राष्ट्रिय प्रतियोगितामा पदक जित्ने झापाली खेलाडीलाई सम्मान
भद्रपुर । गत वैशाखमा सम्पन्न १३ औं राष्ट्रपति रनिङ शील्ड राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने झापाका खेलाडीहरूलाई थप हौसलाका लागि जिल्ला खेलकुद विकास समिति झापाले एक समारोहका बीच मङ्गलवार सम्मान गरेको छ ।
मेची रङ्गशालास्थित कबर्ड हलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरे ।
जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुदमा एथलेटिक्सको ट्रिपल जम्पतर्फ स्वर्ण पदक विजेता राजीव ढुङ्गानालाई नगद पाँच हजार, पुरुष कबड्डीमा सहभागी भई रजत पदक विजेता अमन ताजपुररिया र आदर्श सहनीलाई नगद तीन हजार, महिला कबड्डीमा सहभागी भई कांस्य पदक विजेता मनमाया तामाङ, राधिका कुमाल र सविना मावो, करातेमा कांस्य पदक विजेता पुस्चल रामदान र समीर मगरलाई दुई हजार नगदसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको थियो ।
जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकायका प्रमुख, खेलाडी एवम् एवम् खेलकुदसँग सम्बन्धित व्यक्तित्हरुको उल्लेख्य सहभागितामा आयोजित सोही समारोहका बीच खेलकुदको विकास, सम्बद्धृन र संरक्षणमा उल्लेख्य योगदान पुर्याएकोमा समितिले भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगर खेलकुद विकास समिति, भद्रपुर झापा गोल्डकप, झापा गोल्डकप र सहारा नेपाल साकोसलाई पनि सम्मान गरेको थियो ।
भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल, कनकाई नगरपालिकाको तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाको तर्फबाट किरण श्रेष्ठ, कनकाई नगर खेलकुद विकास समितिको तर्फबाट समितिका अध्यक्ष जविन तिम्सिना, भद्रपुर झापा गोल्डकपका तर्फबाट अध्यक्ष दीपेश ढकाल, झापा गोल्डकपका तर्फबाट अध्यक्ष विनोद बस्नेत र सहारा नेपाल साकोसका तर्फबाट अध्यक्ष हरि राजवंशीले सम्मान पत्र ग्रहण गरेका थिए ।
मन्त्री भएपछि पहिलो पटक झापा आएका लिम्बूलाई समितिले स्वागत गर्दै कदर पत्र प्रदान गरेको थियो । समितिका अध्यक्ष भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल, कार्यालय सचिव विष्णु नेम्बाङलगायत समितिका पदाधिकारी–सदस्य र प्रशिक्षकहरूले संयुक्त रुपमा मन्त्री लिम्बूलाई कदर पत्र हस्तान्तरण गरेका थिए ।
कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री लिम्बूले आफू पनि विगतमा खेलाडी नै रहेकोले खेलाडीको मर्म र भावनाप्रति आफू जानकार रहेको बताउँदै समग्र खेलकुद क्षेत्रको विकासका लागि आफू कहिल्यै पछि नहट्ने बताए । मन्त्री लिम्बूले खेलकुद क्षेत्रलाई निकै कम बजेट प्राप्त भएको उल्लेख गर्दै प्राप्त बजेटको पूर्ण सदुपयोग हुने गरी कार्यक्रमहरू तय गरिने बताए ।
नेपालले खेलकुदको माध्यमबाटै अरू देशलाई जित् नसक्ने भन्दै लिम्बूले त्यसका लागि खेलाडीको मनोबल उच्च बनाउन सरकार लागिपर्नुपर्ने बताए । मन्त्री लिम्बूले सरकार खेलाडीको जीवन सुरक्षित गर्न खेलाडीको जीवन बिमा गर्ने योजनामा रहेको पनि उल्लेख गरे ।
त्यसंबीच समितिले मेची रङ्गशालालगायत भौतिक संरचनाहरूको स्तरोन्नति तथा झापाको खेलकुद क्षेत्रको समग्र विकासका लागि बुँदागत रुपमा तयार पारेको माग पत्र मन्त्री लिम्बूलाई हस्तान्तरण गरिएको समितिका प्रवक्ता जगण दुर्वासा कार्कीले जानकारी दिए । त्यस्तै, भद्रपुर झापा गोल्डकपका तफृबाट पनि मन्त्री लिम्बूलाई मानपत्र हस्तान्तरण गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।