२०८३ बैशाख ११ गते , शुक्रबार

मेची भन्सारले रोक्यो अम्रिसो ‘अन्डर इन्भ्वाइसिङ’

sajilo news
झापा
२०८० असार २ गते , शनिबार
मेची भन्सारले रोक्यो अम्रिसो  ‘अन्डर इन्भ्वाइसिङ’

झापास्थित मेची भन्सार कार्यालय काँकडभिट्टाले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ । यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकोमा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत कमलप्रसाद कोइरालाले जानकारी दिए । यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी गर्दै आएको उनले बताए। “७० रुपैयाँमा कायम गरेर अम्रिसो निकासी गरिँदै आएको थियो”, उनले भने, “अहिले बजार भाउ बुझेर मात्र निकासी मूल्य कायम गर्ने गरिएको छ ।”

अम्रिसोको बजार मूल्य सरदर प्रतिकिलो रु १२२ रहेको छ । यथार्थ नराखे निकासी रोक्ने चेतावनी दिएपछि व्यवसायीले अहिले प्रतिकिलो रु १२० मूल्य राखेर उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए। स्वदेशी उत्पादनमा जिल्ला उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र दिने भएकाले जति मूल्य राखेर ल्याइन्छ सोही मूल्यमा निकासी गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । व्यापारीले गत वर्ष पनि किसानबाट रु ११५ प्रतिकिलोले अम्रिसो किनेर मेची भन्सार कार्यालयबाट ४९ रुपैयाँ ६८ पैसा प्रतिकिलोका दरले भारत र बंगलादेश निकासी गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

स्थानीय व्यापारीले इलाम र पाँचथरका गाउँ–गाउँबाट संकलन गरेको अम्रिसो झापाको बिर्तामोड, धुलाबारी, मेचीनगरका व्यापारीलाई केही नाफा राखेर बेच्ने गरेका छन् । झापाका व्यापारीले सामान्य ग्रेडिङ र प्याकिङ गरेर पूर्वी नाका काँकडभिट्टाबाट भारत, बंगलादेश लगायतका मुलुकमा निकासी गर्ने गरेका छन् ।

अम्रिसोलाई गुणस्तरका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा छुटाइन्छ । ग्रेडअनुसार मूल्य तोकेर निकासी गर्ने गरिएको छ । यसरी निकासी हुने कृषि वस्तुका लागि एउटा प्रज्ञापन पत्रमा ११३ रुपैयाँ भन्सार सेवा शुल्कबाहेक केही पनि तिर्नु पर्दैन । व्यापारीले स्वयम् घोषणा गरेको मूल्य नै भन्सार कार्यालयका लागि अन्तिम मूल्य हुन्छ ।

स्वयम् घोषणा गर्ने मूल्य व्यवसायीकै संगठनहरु नेपाल उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सबाट निर्धारण हुन्छ । त्यसको पनि ९९ प्रतिशत उद्योग वाणिज्य संघले हेर्ने गर्दछ । निर्यात गरेको वस्तुमा कम मूल्यको बिल बनाउँदा व्यापारीले पाउनुपर्ने बिलबाहेकको पैसा विदेशबाट हुन्डी या अरू माध्यमबाट ल्याउनुपर्ने हुन्छ । यसले अनौपचारिक कारोबारलाई बढवा दिने जानकारहरू बताउँछन् ।

सम्बन्धित समाचार