२०८३ बैशाख १६ गते , बुधबार

अरब सागरको बिपरजोय आँधी भारत र पाकिस्तानको तटीय क्षेत्रमा ठोक्कियो

sajilo news
एजेन्सी
२०८० असार १ गते , शुक्रबार
अरब सागरको बिपरजोय आँधी भारत र पाकिस्तानको तटीय क्षेत्रमा ठोक्कियो

अरब सागरमा विकसित भएको बिपरजोय आँधी भारत र पाकिस्तानका तटीय क्षेत्रमा ठोक्किएको छ।  गएराति भारतको गुजरात, महाराष्ट्र तथा पाकिस्तानको कराँची प्रान्तका तटीय क्षेत्रमा ठोक्किँदा आँधीको गति भने पूर्वानुमान गरिएको भन्दा कमजोर बनेको अधिकारीहरुले जनाएका छन्। जसका कारण क्षति केही न्यून भएको अनुमान छ।

आँधीबाट भारतको गुजरातमा ५ जनाको मृत्यु भएको र २३ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गुजरातका ९ सयभन्दा बढी गाउँ आँधीबाट प्रत्यक्ष प्रभावित भएका छन्। 

आँधीसँगै तीव्र गतिमा चलेको हावा र भारी वर्षाले भारत र पाकिस्तानका तटीय क्षेत्रमा बिजुलीका कयौँ पोल ढलेका छन् । सीमा क्षेत्रका सहरहरुमा ब्ल्याक आउट भएको र मर्मतसम्भार गरेर बिजुली आपूर्ति गर्न कयौँ दिन लाग्नसक्ने अनुमान गरिएको छ। 

प्रान्तीय तथा केन्द्रीय सरकारले आँधीपूर्व क्षति न्यूनीकरणका थुप्रै उपाय अपनाएका थिए। भारतका तटीय क्षेत्र र पाकिस्तानका तटीय क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो।

भारतको गुजरात सरकारले आँधीले ठूलो भौतिक क्षति गरेको अनुमान गरेको छ। साथै आज प्रशासनका अधिकारीहरुले स्थलगत अवलोकन गरी क्षतिको आंकलन गर्ने जनाइएको छ। भारतको गुजरात तथा पाकिस्तानको तटीय क्षेत्रमा २५ वर्षयता ठोक्किएको यो पहिलो शक्तिशाली आँधी हो।

सम्बन्धित समाचार