२०८३ बैशाख ५ गते , शनिबार

मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक च्याम्पियन

sajilo news
झापा
२०८० जेष्ठ २९ गते , सोमबार
मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक च्याम्पियन

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ वटा प्रदेश र आयोजक समिति गरी ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो । 

आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहमा खेलेका आशिष् उप्रेती, ६७ केजी तौलका दीपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुङ्गाना र ६१ केजीमा खेल्ने पूजा चौधरीले स्वर्ण पदक जितेका थिए । त्यसैगरी ४५ केजी तौल समूहकी प्रियङ्का राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक प्राप्त गरेका छन् । 

दोस्रो हुने बाग्मती प्रदेशले समान ५ स्वर्ण र २ कांस्य पदक हात पारेको छ । बाग्मतीका पुरुषतर्फ ६० केजी तौल समूहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ, ५५ केजी तौल समूहकी सञ्जीवनी कार्कीले स्वर्ण पदक जितेका छन् । त्यसैगरी बाग्मतीले शनिवार सम्पन्न खेलको कातातर्फका दुवै पदक हात पारेको थियो । बाग्मतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजीमाथिका सुरज मगरले कांस्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकीले दुई वटा स्वर्ण र एउटा कांस्य पदक हात पारेको छ । गण्डकीका ५५ केजी तौल समूहका अङ्कित गुरुङ र ७५ केजी माथिको तौल समूहका सजल बुढाथोकीले स्वर्ण जितेका हुन् । त्यसैगरी गण्डकीका लागि ६५ केजीमाथिको तौल समूहकी सिमरन राईले कांस्य पदक प्राप्त गरेकी छन् । 

प्रतियोगिताको चौथो स्थान कोसी प्रदेशले प्राप्त गरेको छ । कोसी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कांस्य पदक हात पा¥यो । कोसीका ७५ केजी तौल समूहका राजीव खड्काले स्वर्ण जितेका हुन् । रजत पदक ७५ केजी माथिको तौल समूहका रोशन धामी, ५० केजीका अङ्कित भेटवाल, ५५ केजी तौल समूहकी सञ्चिता लेप्चा र कातातर्फ करुणा राईले जितेका छन् । कोसीका ६० केजीका शाहिल घिमिरे र ६१ केजी तौल समूहमा खेलेकी समीक्षा लेप्चाले कांस्य पदक हात पारेका छन् । 

त्यसैगरी लुम्बिनी प्रदेश ५ औं स्थानमा रहेको छ । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ । लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जितेकी छन् । रजततर्फ ४० केजीकी सुशीला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रवीन्द्र सुनारले पदक जितेका छन् । 

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दै छैटौँ स्थानमा रहेको छ । सुदूर पश्चिमका ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आशिष् सेजुवाल र ६१ केजी तौल समूहकी सोनियाँ तिरुवाले रजत पदक हात पारेका छन् । कांस्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ कजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीमा खेल्ने अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङले कांस्य पदक प्राप्त गरे । 

स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेशले सातौँ र आठौँ स्थानमा रहेका छन् । मधेस प्रदेशले ३ रजत र ३ कांस्य जितेको छ । मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समूहकी सबिना दियालीले रजत पदक हात पारेका छन् । ५० केजीका उज्ज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सबिना दियालीले नै कांस्य पदक प्राप्त गरिन् । 

कर्णाली प्रदेशले १ रजत र १ कांस्य पदक जितेको छ । कर्णालीका ६७ केजी तौल समूहका सन्दीप विकले रजत र ४५ केजी तौल समूहका मिलकुमार राईले कांस्य पदक हात पारेका छन् । प्रतियोगितामा स्वर्ण पदक जित्नेले १० हजार, रजत पदक पाउनेले ७ हजार र कांस्य पदक पाउनेले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको आयोजक कमिटीका मदन उप्रेतीले जानकारी दिए । 

शनिवारदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र आयोजकको एकसहित ८ टिमको सहभागिता रहेको थियो । देशभरका १२० भन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए । 

सम्बन्धित समाचार