२०८१ मंसीर ३० गते , आईतबार

बिर्तामोडमा पशुपालन व्यवसाय सम्बन्धी तालिम सम्पन्न

sajilo news
झापा
२०८० जेष्ठ २७ गते , शनिबार
बिर्तामोडमा पशुपालन व्यवसाय सम्बन्धी तालिम सम्पन्न

बिर्तामोडमा पशुपालन व्यवसायमा आबद्ध रहेका कृषकहरूको तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीन वटा तालिम शुक्रबार सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिक रुपमा बाख्रा पालन, गाई पालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको थियो । गाई, बाख्रा पालन सम्बन्धी एक एक दिन र  पशु आहार व्यवस्थापन सम्बन्धी दुई दिन तालिम सञ्चालन गरिएको शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन् । 

तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले तालिममा सिकेका कुरालाई बेवास्ता नगरी हुबहु कार्यान्वयन गर्न सहभागीलाई आग्रह गरिन्। आधुनिक तवरले पशुपालन व्यवसाय सञ्चालन गर्नु पर्ने भन्दै उनले यस तालिममा छुटेकाहरूलाई आगामी कार्यक्रममा सहभागी गराउने बताइन् ।  तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका जिन्सी शाखा प्रमुख मेघराज वाँस्तोला र पशु विज्ञ तथा तालिम प्रशिक्षक डाक्टर कमलेश्वर भाटले सहभागीहरूले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिए । 

तालिममा सहभागीहरूको तर्फबाट बोल्दै वडा नम्बर ७ का कृषक सागर ढकालले नगरपालिकाले प्रदान गरेको यस तालिमबाट धेरै कुराको ज्ञान लिएको बताए  । उनले आफूले सिकेको सिप तालिममा सहभागी नभएकाहरूलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गरे । कृषक ढकालले पशुपन्छी तथा दूधमा बिर्तामोडलाई आत्मनिर्भर बनाउन सहकार्य गरेर अघि बढ्ने समेत बताए ।  बिर्तामोड नगरपालिकाले व्यावसायिक रुपमा कृषि तथा पशु पालन गर्दै आएका कृषकहरूको लागि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार