बिर्तामोडको डोमालाल रंगशालालाई संघीय सरकारको ५० लाख बजेट
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालालाई सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालकै प्रतिष्ठित झापा गोल्डकप सञ्चालन हुँदै आएको सो रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारले आगामी आर्थिक वर्षका सो रकम विनियोजन भएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
संघीय सरकारबाट विनियोजन गरिएको सो बजेटबाट रंगशालाको स्तरोन्नति गरिने बस्नेतले बताए । सरकारले हालसम्म बजेट उपलब्ध नगराउँदा निजी स्रोतबाट मैदानको स्तरोन्नति हुँदै आएको छ । सरकारले रंगशाला विकासका लागि बजेट विनियोजन गरेकोप्रति बस्नेतले धन्यवाद व्यक्त गरे । ५० लाख रुपैयाँले मैदान मर्मत, घेराबारा वा अन्य काम गर्ने भन्ने पछि टुङ्गो लाग्ने उनले बताए ।
सो रंगशालामा झापा गोल्डकप लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका प्रतियोगिता हुँदै आएका छन् । झापा गोल्डकपको छैटौँ संस्करण यही फागुनमा हुने तयारी छ ।