२०८३ बैशाख ५ गते , शनिबार

पाथीभरा मन्दिरको भेटी गोलमाल प्रकरण : गाउँपालिकाको अडानप्रति स्थानीय दलहरुको समर्थन

sajilo news
इलाम
२०८० जेष्ठ २३ गते , मंगलबार
पाथीभरा मन्दिरको भेटी गोलमाल प्रकरण : गाउँपालिकाको अडानप्रति स्थानीय दलहरुको समर्थन

इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरमा पाँच वर्षमा संकलन भएको भेटी (नगद, सुन र चाँदी)मा गोलमाल भएको विषयमा गाउँपालिकाले लिएको अडानप्रति रोङका राजनीतिक दलहरूले गाउँपालिकालाई समर्थन गरेका छन्। 

पाथीभरा संरक्षण संस्थाले पाँच वर्षमा वर्षमा करिब १५ करोड बढी हिसाब गोलमाल गरेको भन्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई छानबिन पत्र लेखेको थियो। तर, जिल्ला प्रशासन कार्यालयले उल्टै असहयोग गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए। 

अनियमितता छानबिन गर्न सर्वदलीय बैठकको निर्णयले आग्रह गर्दा प्रशासनले गाउँपालिकालाई पनि झगडियाजस्तै बनाएर छलफलमा बोलाएर असहयोग गरेको उनको आरोप छ। 

तर, गाउँपालिकामा क्रियाशील राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाले अनियमितताविरुद्ध चालेको कदममा ऐक्यबद्धता जनाएका हुन्। उनीहरूले गाउँपालिकालाई खुट्टा नकमाउन आग्रह गरे। राजनीतिक दलले अनियमितताको सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरे। 

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले पाथीभरामा भएको आर्थिक अपारदर्शितामाथि गाउँपालिकाले कुनै हालतमा तलमाथि नगर्ने बताए। उनले पाथीभरामा वार्षिक दुईदेखि अढाई लाख धार्मिक पर्यटक आउने गरेको र उनीहरूले दिएको दानलाई अनियमितता हुन नदिने उनले बताए।

स्याङ्बोले पाथीभरा संरक्षण संस्थाले ०७३ देखिको हरहिसाब देखाउन नसक्दा पाँच वर्षमा कति भेटी संकलन भयो र रकम कहाँ गयो भनेर यकिन हुन नसकेको बताए। यो संस्थाले ०७३ असारदेखि संस्था नवीकरण र साधारणसभा पनि गरेको छैन। 

पाथीभरा संरक्षण संस्था पारदर्शी नभएपछि रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ जारी गरेर पाथीभरा विकास समितिमार्फत व्यवस्थापन थालेको छ। 

१ फागुनबाट पाथीभरा मन्दिरको जिम्मा लिएसँगै सय दिनमा भेटीबापत ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ आम्दानी भएको छ। जब कि पाथीभरा संस्थाले पाँच वर्षमा आफ्नो हिसाब सार्वजनिक गरेको छैन। 

यद्यपि, गाउँपालिकाले नियुक्त गरेको लेखा परीक्षणको प्राम्भिक प्रतिवेदनले पाथीभरा संरक्षण संस्थाको १९ महिनाको आम्दानी ४७ लाख मात्रै देखिएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए।

गाउँपालिकाले अर्को विकास समिति बनाएर आफैँ आम्दानी संकलन गरेर गाउँपालिकाको खातामा जम्मा गरेपछि भने उक्त संस्थाले १४ चैतमा संस्थाको नगद तथा जिन्सी सामान बुझिदिन भन्दै गाउँपालिकालाई पत्र लेखेको थियो। तर, गाउँपालिकाले लेखापरीक्षणविना हिसाब नबुझ्ने जवाफ फर्कायो। 

गाउँपालिकाले आफैँ लेखा परीक्षक नियुक्ति गरेर पठाउँदा पनि स्वतन्त्र लेखापरीक्षकलाई असहयोग गरेर पाथीभरा संरक्षण संस्थाले अनियमितता लुकाउन खोजेको अध्यक्ष स्याङ्बोको आरोप छ।

खोजेको उनले आरोप लगाए। अध्यक्ष स्याङ्बोले स्थानीय तहले नियुक्ति गरेको लेखापरीक्षकलाई स्वीकार नगर्ने अधिकार गैरसरकारी संस्थालाई नरहेको बताए। ‘०७३ देखि नवीकरण नभएको संस्थालाई गाउँ सरकारले नियुक्ति गरेको लेखापरीक्षक अस्वीकार गर्ने अधिकार कसले दियो ?’ उनी भन्छन्, ‘अनियमितता भएको पुष्टि हुँदा पनि जिल्ला प्रशासन कार्यालय छलफलको बहानामा किन संरक्षण गरिरहेको छ?’

जिल्ला प्रशासनले बनायो छानबिन समिति

सानो पाथीभरा नामले चिनिएको पाथीभरा मन्दिरमा पाथीभरा संरक्षण संस्थाले पाँच वर्षमा गोलमाल गरेको हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँचसदस्यीय समिति बनाएको छ। उक्त समितिलाई २५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

सम्बन्धित समाचार