झापामा भारतीय पक्षको ज्यादती, दशगजामै विद्युतीय साइरन जडान

झापा । दक्षिण झापाको कचनकवल सीमा क्षेत्रमा भारतीय पक्षको अतिक्रमण बढ्दो छ । कचनकवल गाउँपालिका– १ स्थित सुरीभिट्टामा विगत पाँच महिना अगाडि भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमै बाटो बनाउन लाग्दा स्थानीय जनप्रतिनिधिले त्यसलाई रोकेका थिए ।
त्यो घटना सेलाउन नपाउँदै अहिले फेरि भारतीय पक्षले दशगजा क्षेत्र मिच्दै हात्ती धपाउने विद्युतीय साइरन जडान गरेको पाइएको छ । गत जेठ १ गते भारतको विहार राज्य किशनगञ्जका जिल्ला अधिकारी (डीएम) श्रीकान्त शास्त्रीको आग्रहमा झापा र मोरङका प्रशासकबीच संयुक्त बैठक बसेको थियो । सो बैठकमा नेपाल– भारतको दशगजा क्षेत्र खाली गराउँदै अतिक्रमण हटाउने मौखिक सहमति भएको थियो ।
दुवै देशका प्रशासकबीच त्यस्तो सहमति हुँदाहुँदै भारतीय पक्षले नेपाली पक्षलाई जानकारी समेत नगराई कचनकवल– १ स्थित पिन्डलबारीदेखि सुरीभिट्टा हुँदै कदुभिट्टासम्मको करिब ४ किलोमिटर क्षेत्रको २०/२० मिटरमा विद्युतीय साइरन जडान गरेको बताइएको छ ।
सीमा पिलरदेखि दायाँबायाँ ५००/५०० मिटर छाड्नु पर्नेमा भारतीय पक्षले ५०० मिटरभित्रै फलामको पाइप लगाएर विद्युतीय साइरन जडान गरेको कचनकवल– १ का वडा अध्यक्ष महावीर लिम्बुले बताए ।
भारतीय पक्षको अतिक्रमण यो क्षेत्रमा अझै नरोकिएको बताउँदै वडा अध्यक्ष लिम्बुले भने, ‘पाँच महिनाअघि सुरीभिट्टाको दशगजा क्षेत्र खन्दै भारतीय पक्षले एक सय मिटर बाटो बनाउन लागेको थियो, त्यस बेला आफै गएर मैले त्यो काम रोक्न लगाए ।’ अहिले भारतीय पक्षले दशगजा क्षेत्रमै विद्युतीय साइरन जडान गरेको छ । ‘यो घटना १० दिनअघि हो,’ उनले भने, ‘साइरन जडान गरेपछि भारतीय एसएसबीसँग घटनाको बारेमा बुझ्दा भारतीय वन विभागले लगाएको जानकारी गरायो ।’
‘भारतीय पक्षले पटक–पटक दशगजा क्षेत्र अतिक्रमण गर्दा शङ्का उत्पन्न भएको छ,’ उनले भने, ‘सीमा तैनाथ सुरक्षाकर्मीलाई पनि यस बारेमा थाहा नपाएको जानकारी पाइयो, त्यसपछि मैले नै सशस्त्र र नेपाल प्रहरीलाई साइरन जडानको बारेमा जानकारी गराए ।’
जलथल जंगलबाट निस्किने जङ्गली हात्ती सीमा नजिकै भारतीय बस्तीमा क्षति पु¥याउन थालेपछि भारतीय पक्षले दशगजा क्षेत्रमा एकलौटी ढङ्गबाट साइरन जडान गर्नु कार्य गलत हो । ‘तत्काल सम्बन्धित निकायले यसतर्फ चासो देखाएर दशगजा क्षेत्र खाली गराउनु पर्छ,’ उनले भने ।
भारतीय पक्षले दशगजा क्षेत्रमा विद्युतीय साइरन जडान गरेको घटनाको बारेमा समाचार संकलनका लागि गएका स्थानीय पत्रकार नेत्र विमलीमाथि भारतीय एसएसबीले दुर्व्यवहार गरेको छ । साइरन जडानको फोटो खिचेको भन्दै एसएसबीले पत्रकार विमलीको क्यामेरा खोस्न खोजेका थिए । पछि पत्रकारको परिचयपत्र देखाएपछि खिचेको सबै फोटो एसएसबीले डिलिट गर्न लगाएको उनले बताए ।
यता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारिका इन्चार्ज तथा डीएसपी देवबहादुर बोहरालाई भारतीय पक्षले दशगजा क्षेत्र मिचेर साइरन जडान गरेको बारेमा थाहा नै छैन । डीएसपी बोहराले भने, ‘साइरन जडान घटनाको बारेमा आफूलाई केही थाहा छैन, बुझेर जानकारी गराउने छु ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति तथा एसपी देवराज अर्याललाई पनि साइरन जडान घटना बारेमा जानकारी नै थिएन । एसपी अर्यालले भने, ‘दशगजा क्षेत्रमा कुनै पनि गतिविधि गर्न चाहिँ पाइँदैन, यस बारेमा थप जानकारी लिने काम भइरहेको छ ।’ ‘सीमा पिलर १२५ नजिकै जडान गरिएको साइरन दशगजाभित्र देखिएन,’ उनले भने, ‘साइरन जडान गरिएको चार किलोमिटरसम्म सशस्त्रले स्थलगत अनुगमन गर्ने छ, त्यस्तो पाइएमा तुरुन्त हटाउन लगाइनेछ ।’