अत्यधिक गर्मीले झापाका जनजीवन कष्टकर, अस्पतालहरूमा बिरामीको चाप बढ्यो, विद्यालय बन्द
आज वातावरण दिवस

झापा । अत्यधिक गर्मी कारण केही दिनदेखि पूर्वी जिल्ला झापाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस, न्युनतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिए पनि तापक्रमको मात्रा ४४ डिग्री सेल्सियससम्म मानिसले अनुभव गरिरहेको गुगल मौसम पूर्वमानले देखाइरहेको छ ।
गर्मीसँगै तातो हावा चल्न थालेपछि जिल्लाका अधिकांश स्थानीय तहले बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द दिएका छन । सरकारी तथा निजी अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या समेत ह्वातै बढेको छ । जिल्लाबासीहरु गर्मी छल्न छिमेकी पहाडी जिल्ला इलाम घुम्न जान समेत थालिसकेका छन्, भने स्थानीय नदी तथा पोखरीमा पौडी खेल्नेको समेत घुइँचो लाग्ने गरेको पाइएको छ ।
चर्को घामका कारण दिउँसोको समयमा घरबाट मानिस निस्किन छाडेपछि जिल्लाका अधिकांश बजार सुनसान जस्तै बनेको व्यापारीहरू बताउँछन् ।
बुधवारदेखि बढेको अत्यधिक गर्मी कारण झापाका स्थानीय तहहरूले बिहीबारदेखि विद्यालय बन्द दिएका थिए । केही स्थानीय तहले मङ्गलवारसम्म विद्यालय बन्द दिएकोमा भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, दमक, शिवसताक्षी लगायतका पालिकाहरूले थप तीन दिन बिदा थपेको समेत सूचना जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले तराईका भूभागमा तातो हावा तथा ’लु’ लाग्ने सम्भावना रहने जानकारी गराएसँगै विद्यालय थप तीन दिन बिदा दिएको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । यता अत्यधिक गर्मी कारण प्रादेशिक अस्पताल भद्रपुरमा बिरामीको चाप ह्वातै बढेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मनिष सुवेदी जानकारी दिए ।
अस्पतालमा केही दिन देखि झाडापखाला, पेट दुख्ने, रिँगटा लाग्ने, टाउको दुख्ने, ग्यास्ट्रिक जस्ता बिरामीको ह्वातै चाप बढेको बताउँदै डा. सुवेदीले भने, ‘जस कारण ओपिडी बेडहरू बिरामीले भरिएको छ, अहिले बिरामीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको छ ।’ ‘अस्पतालमा मिर्गौला रोगीहरू नियमित डायलिसिस गराउन आउँदा गर्मीका कारण धेरै पानी पिउनाले उनीहरूमा श्वासप्रश्वासको समस्या देखा पर्न थालिएको छ,’ डा सुवेदीले भने ।
जिल्लामा गर्मीका कारण अत्यधिक मदिरा सेवनले केही व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
‘अत्यधिक मदिरा सेवनले केही दिन यता दुई/तीन जनाको ज्यान गएको छ,’ डीएसपी रिजालले भने, ‘मदिरा सेवा पश्चात् उनीहरूको ज्यान गर्मीकै कारण गएको हुन सक्ने प्रहरीको अनुमान छ, पोस्टमार्टम रिपोर्ट नआउन्जेल यसै भन्न सकिन्न ।’ गर्मीमा धेरै मदिरा सेवन नगर्न झापावासीलाई उनले आग्रह समेत गरेका छन् ।