पुहाँतु माविका व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेको छ : प्रजिअ पोखरेल

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विद्यालय व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेको बताएका छन् । भद्रपुर नगरपालिका- ९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा उत्पन्न विवादलाई केही दिनभित्र टुङ्गो लगाइने प्रजिअ पोखरेलले बताए ।
केही दिनभित्र नगरपालिका बैठक बसी समस्या समाधान गरिने उनको भनाई छ । यता भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले विना सर्त शिक्षकलाई हाजिर गराउनु पर्ने बताएका छन् । सम्बन्धित वडाध्यक्षको रोहवरमा हाजिर गराउने विषयमा निर्णय भइसकेको उनले बताए । विवादको मिलन विन्दुमा पुगिसकिएको वडा अध्यक्ष रामबहादुर दाहालले जानकारी दिए । नगर प्रमुख र व्यवस्थापन समिति बसेर केही दिन भित्रमा नै टुङ्गो लगाइने उनको भनाई छ ।
व्यवस्थापन समितिले मावि तहका शिक्षक सृजना प्रसाईँ, कमला राई, सहित शिक्षकहरू सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र शर्मिला अधिकारीलाई विद्यालयमा वैशाख ५ गतेबाट हाजिर हुन दिएको छैन ।
विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई समेत उल्लङ्घन गर्दै आइरहेको छ । व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई उल्लङ्घन गर्दै शिक्षकलाई हाजिर गर्न दिएका छैनन् ।