२०८३ बैशाख ५ गते , शनिबार

मुरारका समूहले तिरेन तीन अर्ब ७५ करोड राजस्व

sajilo news
रासस
२०८० जेष्ठ ३ गते , बुधबार
मुरारका समूहले तिरेन तीन अर्ब ७५ करोड राजस्व

विराटनगर ।  आन्तरिक राजस्व कार्यालय विराटनगरले उद्योगी मुरारका समूहबाट ठूलो रकम राजस्व उठाउनुपर्ने देखाएको छ।​ यो समूहका अशोक मुरारका र उनका साझेदार कृष्णप्रसाद प्रसाईंबाट सञ्चालित उद्योगबाट तीन अर्ब ७५ करोड राजस्व असुल उपर गर्नुपर्ने कार्यालयले जनाएको छ। मुलुक आर्थिक मन्दीमा रहेका वेला उनीहरूले सञ्चालन गरेको उद्योगबाट लामो समयदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरेको अनुसन्धानबाट खुलेको छ।

लामो समयदेखि राजस्व नबुझाएका कारण आन्तरिक राजस्व विभागले पनि कारबाही प्रक्रिया अघि बढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ। मुरारकाको सञ्चालनमा आएको सुनसरीमा पशुपति आइरन तथा इलामको श्रीअन्तुमा रहेको चिया उद्योगसमेत छ। 

कार्यालयबाट प्राप्त जानकारीअनुसार मुरारका र प्रसाईंको संयुक्त सञ्चालनमा रहेको अवनिश एग्रोभेट इण्डष्ट्रिजले दुई अर्ब ४४ करोड राजस्व बुझाउनुपर्ने देखाएको छ। यो उद्योग अन्तरिक राजस्व कार्यालय विराटनगरमा २०६० फागुन २६ गते भ्याट दर्ता लिएको थियो तर हालसम्म यसले कर विवरण बुझाएको छैन। 

त्यस्तै मुरारका र प्रसाईंकै संयुक्तरूपमा सञ्चालनमा रहेको मोरङको बेलबारीस्थित ओम साईबाबा क्रसर उद्योगले एक अर्ब ३३ करोड कर बुझाएको छैन। क्रसरले लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महसुल करिब ४९ लाख पनि बक्यौतामै राखेको छ। प्राधिकरण​ले बारम्बार ताकेता गर्दा पनि उद्योगीले नटेरेको प्राधिकारणको कर्मचारीको भनाइ छ। 

यो उद्योगमा अशोक मुरारका, अभिषेकुमार मुरारका  कृष्णप्रसाद प्रसाईं साझेदार छन्। यो उद्योग आन्तरिक राजस्व कार्यालय विराटनगरमा विसं २०६० वैशाख ४ गते दर्ता भएको थियो। आन्तरिक राजस्व कार्यालयले दुवै उद्यागले तिर्नुपर्ने मूल्यअभिवृद्धि कर र आयकर निर्धारण गरेर त्यसमा लाग्ने जरिवाना र ब्याजको रकमसमेत जोड्दा तीन अर्ब ७७ करोड हुने ठहर गरेको छ। 

राजस्व न्यायाधीकरणमा मुद्दा चलिरहेको यस विषयमा जिल्ला अदालत मोरङका न्यायाधीश सत्यमोहन जोशीको इजलासले आन्तरिक राजस्व कार्यालयलाई कर निर्धारण गर्नु भन्ने आदेश पनि भएको थियो।

यसरी पत्र पाएपछि आन्तरिक राजस्वले दुवै उद्योगले तिर्नुपर्ने तीन अर्ब ७७ करोडको कर निर्धारण गरेको बताइएको छ। यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले राजस्वका विषयमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए।

सम्बन्धित समाचार