२०८१ असार ६ गते , विहीबार

झापामा जालझेल गरी जग्गा हडपेपछि डिप्रेसन पुगेका जग्गाधनी मैनालीको मृत्यु, श्रीमती र दुई छोरी बिचल्लीमा

sajilo news
पार्थ मण्डल
२०८० जेष्ठ १ गते , सोमबार
झापामा जालझेल गरी जग्गा हडपेपछि डिप्रेसन पुगेका जग्गाधनी मैनालीको मृत्यु, श्रीमती र दुई छोरी बिचल्लीमा

झापा । जालझेल गरी जग्गा हडपेपछि डिप्रेसन पुगेका झापाका एक जग्गाधनीको मृत्यु भएको छ।  भद्रपुर-बिर्तामोड सडक खण्डसँग जोडिएको करोडौँ मुल्य बराबरको जग्गा केही व्यक्तिहरूले व्यक्तिगत चिनजानको फाइदा उठाउँदै जालझेल गरी हडपेपछि बिर्तामोड नगरपालिका-८ का ६३ वर्षीय हरि मैनाली डिप्रेसनको सिकार भएका थिए। 

उनको शनिवार बेलुका साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको हो। जग्गाधनी मैनालीको मृत्यु भएपछि उनकी श्रीमती राधा र दुई छोरीहरू लक्ष्मी र यमुना बिचल्लीमा परेका हुन्। 

विभिन्न प्रलोभन देखाएर भएभरको सबै जग्गा माफियाहरूले आफ्नो कब्जामा लिएको कारण अहिले मैनाली परिवार घरबारविहीन (सुकुम्वासी) बनेको स्थानीयवासी बताउँछन्। 

करोडौँ मुल्य पर्ने जग्गा अरूले जालझेल गरी हडपेको कारण जग्गाधनी मैनालीको मृत्यु भएको भन्दै उनका आफन्त र छरछिमेकले स्थानीय प्रशासनले उचित न्याय नदिलाएसम्म शवको दाहसंस्कार नगर्ने अडान लिए। 

सोही विषयलाई लिएर पीडित पक्ष आइतबार बिहान जिल्ला प्रशासन कार्यालय झापा पुगे। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घटनाको विषयवस्तु बुझ्दै जग्गा हडप्नेहरूलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएपछि शवको दाहसंस्कार गरिएको मृतकका आफन्त सुमन मैनालीले जानकारी दिए। 

पीडित पक्षको तर्फबाट प्रशासनमा निवेदन दिएको बताउँदै मृतकका आफन्त सुमनले भने, ‘सो घटनाका बारेमा कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको र जिल्लाले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई पत्राचार गरिसकेको बुझ्नमा आएको छ।’ 

यस्तो छ घटना

पहिलो घटना : हरि मैनालीको नाममा रहेको कित्ता नम्बर २०२४ मा दुई विगहा दुई कट्ठा १० धुर जग्गा थियो। सो जग्गा भद्रपुर–बिर्तामोड सडक खण्डसँग जोडिएको आफ्नो घरदेखि उत्तर पट्टीको हो। 

मैनालीले २०२४ नम्बरको कित्तालाई फुटाई २१३४ र २१३५ कायम गरी भक्तपुरका दीपकचन्द्र न्यौपानेलाई कित्ता नम्बर २१३४ को एक बिगाहा १० कट्ठा जग्गा २०७० वैशाख ८ गते र काभ्रेपलान्चोकका नमराज ढुंगानालाई १२ कट्ठा १० धुर जग्गा २०७० साउन २४ गते राजीनामा पास गरेको भूमिसुधार तथा मालपोत कार्यालय झापाको स्रेस्तामा देखिन्छ। मैनालीले ढुंगानालाई राजीनामा पास गर्दा साक्षीमा न्यौपाने बसेको स्रेस्तामा उल्लेख छ। 

जग्गा राजीनामा पास भइसक्दा पनि मैनाली र न्यौपानेबीच लामो समयसम्म आर्थिक लेनदेन भएन। जग्गाको लेनदेन नमिलेको र जग्गा पनि हातबाट फुस्की सकेको भन्दै जग्गाधनी मैनालीले २०७७ सालमा बिर्तामोड ८ नम्बर वडा कार्यालयमा उजुरी हाले। त्यसपछि वडा कार्यालयमा २०७७ असोज २२ गते दुवै पक्षबीच सहमति भयो। जम्मा ४२ कट्ठा १० धुर जग्गा बापत न्यौपानेले मैनालीलाई ४ करोड २० लाख रुपैयाँ दिने लिखित सहमति समेत गरियो।

२० लाख रुपैयाँ बैनावापत मैनाली पाइसकेकाले बाँकी चार करोड रुपैयाँ न्यौपानेले दिने सहमति जुटियो।  सोही दिन नै न्यौपानेले मैनालीका नाममा दुई/दुई करोड रुपैयाँको दुई वटा चेक दियो। तर, चेकमा रकम नहुँदा मैनालीले जग्गाको पैसा पाएन। अनि उनले जिल्ला प्रहरी कार्यालय झापामा दुई वटा चेक बाउन्समा उजुरी हाले। 

प्रहरीमा चेक बाउन्समा उजुरी परेपछि न्यौपानेलाई प्रहरीले पक्राउ गरियो। न्यौपाने शक्ति र पैसाको आडमा उच्च अदालतबाट धरौटीमा रिहा भइसकेको र पीडितले अझै पैसा नपाएको कारण डिप्रेसनमा परेर उनको मृत्यु भएको सुमनले बताए।  

दोस्रो घटना : हरि मैनालीका परिवार बसोबास गर्दै आएको दाजु स्व. डिल्लीकुमार मैनालीको नाममा रहेको कित्ता नम्बर ३०६ को १६ कट्ठा १७ धुर जग्गा पनि जालझेल गरी अर्को समूहले कब्जामा लिइसकेको अर्को घटना पनि खुलेको छ। 

४२ कट्ठा १० धुर जग्गाको चार करोड रुपैयाँ नपाएर पीडित बनिरहेको अवस्थामा मैनाली परिवारको थप १६ कट्ठा १७ धुर जग्गा पनि हातबाट फुस्किएपछि सो परिवार थप सङ्कटमा परेको छ। झापा गाउँपालिका–६ का युवराज सिटौला, चेतराज सिटौला, सौरभ सिटौलाले स्व. डिल्लीकुमार मैनालीलाई समेत सञ्चालकमा राखेर पाथीभरा मार्बल एन्ड ग्रेनाइट कम्पनी खोलेका थिए। 

कम्पनी खोलेपछि उनीहरूले सञ्चालक स्व. मैनालीको नाम रहेको सो जमिन मेघा बैंक गंगुवा शाखामा धितो संरक्षण राखेर रकम झिकेका थिए। तर, सञ्चालक तथा जग्गाधनी मैनालीको चार वर्षअघि नै निधन भइसकेको छ। कम्पनीका अन्य सेयर सदस्यहरूले सो जमिनको सावा र ब्याज नतिरेको भन्दै बैंक लिलामी प्रक्रियामा गइसकेको जनाइएको छ। 

बैंकको ताकेता पश्चात् सो घटना बाहिर आएपछि भाइ हरिले बिर्तामोड ८ नम्बर वडा कार्यालयमा उजुरी हाले। त्यसपछि कम्पनीका सेयर सदस्य युवराज सिटौला र हरिबीच लेनदेनका विषयमा सम्झौता भयो। 

दाजुले लिएको ४० लाख रुपैयाँ फिर्ता दिएको खण्डमा सो जग्गा बैंकबाट फुकुवा गरिदिने भन्दै सेयर सदस्य सिटौलाले सहमति कागजमा हस्ताक्षर गरे। सो सहमति २०७८ फागुन १५ गते भएको देखिन्छ। 

एक महिनाभित्र रकम फिर्ता दिने सर्त बमोजिम हरिले ४० लाख जुटायो। तर, सिटौला रकम पनि लिन नआएको र जग्गा पनि बैंकबाट फुकुवा नगरिदिएको आफन्त सुमन मैनालीले जानकारी दिए। दाजुभाइको जग्गा हडप्नेहरूलाई कारबाही नभए न्यायका लागि जस्तोसुकै संर्घषमा उत्रिने उनको भनाइ छ।  

सम्बन्धित समाचार