२०८२ बैशाख ९ गते , मंगलबार

'संघलाई व्यक्ति विशेष बनाउन दिँदैनौ, साना व्यवसायको पक्षमा जहिले वकालत गर्छु' : प्रज्वल राई

नवनिर्वाचित अध्यक्ष- झापा उद्योग वाणिज्य संघ

sajilo news
झापा
२०८० बैशाख २६ गते , मंगलबार
'संघलाई व्यक्ति विशेष बनाउन दिँदैनौ, साना व्यवसायको पक्षमा जहिले वकालत गर्छु' : प्रज्वल राई

भद्रपुर नगरपालिका– ८ स्थित क्याम्पसमोड निवासी ३५ वर्षीय युवा व्यवसायी प्रज्वल राई झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति झापाको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । 
जनजाति समुदायका प्रज्वल संघको नेतृत्व हाँक्ने पहिलो युवा पनि हुन् । वि.सं.२०४४ साल चैत २५ गते भद्रपुरमा जन्मिएका प्रज्वलले एमरल्ड एकेडेमीबाट कर्मशमा ब्याचुलर पूरा गरेका छन् । स्कुल पढ्दादेखि नै बुबाको व्यवसायी सम्हालेका उनी प्याराग्लाइडिङ पाइलट बन्ने रुचि राखेका थिए । 
बुबाले भद्रपुरमा सञ्चालनमा ल्याएको ओसिइएन ट्राभल्स र ओसिइएन होटेलको रेखदेख गर्दागर्दै उनी पोखरा, चीन र दुबई गएर प्याराग्लाइडिङ र अल्ट्रालाइट पाइलटको कोर्ष पूरा गरे, र पाइलट बने । उनले इलामको रोङबाट प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना बनाए, त्यहाँ गएर उनले परीक्षण उडान पनि गरे  । तर, त्यहाँको मौसमले उनलाई साथ दिएन । त्यसपछि उनी फेरि पोखरातर्फ लागे । 
२०७२ सालको भूकम्पपछि प्याराग्लाइडिङको व्यापार व्यवसायी एकदमै खस्कियो । उनी फेरि गृह नगर फर्किए । त्यसपछि युवा उद्योगी आदित्य पराजुलीसँग प्रेरणीय भएर दाजु कविनसँग मिलेर इलाम नगरपालिका– ८ मा सिद्धकालीन टी स्टेट सञ्चालनमा ल्यायो । 
सोही बेला उनी झापा उद्योग वाणिज्य संघमा आबद्ध हुन पुगे । २०७२ सालमा खुला सदस्यबाट संघको कार्य समितिमा प्रवेश गरेका उनी २०७५ सालमा एशोसिएट्स÷वस्तुगत उपाध्यक्षमा निर्विरोध चयन भए । २०८० सालमा उनले संघको जिम्मेवार पद अध्यक्षमा उम्मेदवारी दिए, र निर्विरोध चयन भए । 
अध्यक्षमा निर्विरोध निर्वाचित भएर शपथग्रहण समेत गरिसकेका उनले आगामी तीन बर्से कार्यकाल यहाँका उद्योगी व्यवसायीको हकहितमा कसरी काम गर्ने बारेमा टाइम्स अफ प्रदेशकर्मीसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ । 

झापा उद्योग वाणिज्य संघले भद्रपुरका साना व्यवसायीको पक्षमा आवाज नउठाएको र काम नगरेको आरोप लागेको छ नि यस्तो आरोपलाई कसरी मेटाउनु हुन्छ ? 

- यसभन्दा अघिल्लो दुई कार्यकालमा पनि म संघमा आबद्ध थिए । तर, नेतृत्व आफ्नो हातमा थिएन । अबको नेतृत्व युवापुस्ताको हातमा आएको छ । साना व्यवसायीको हक अधिकार सुनिश्चितताका लागि युवा नेतृत्वले केही गर्न सक्छन् भनेर अग्रज उद्योगी व्यवसायीले काँधमा जिम्मेवार दिएर पठाएको छ । 
त्यो जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्दै भद्रपुर बजारलाई चलायमान बनाउने मेरो लक्ष्य हुनेछ । भद्रपुर बजारसँगै यहाँका व्यापार–व्यवसायलाई चलायमान नबनाएसम्म संघमाथि लागेको आरोप मेटाउन गाह्रो छ । त्यसैले छिट्टै यहाँका आम साना व्यवसायी, उद्योगी, प्रहरी, प्रशासन, सञ्चारकर्मीहरूको वृहत् भेला डाकेर अन्तरक्रिया कार्यक्रम गरी ओझेलमा परेको भद्रपुर बजारको उत्थानका लागि राय, सुझाव र सल्लाह लिएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु । 
अब पहिला जस्तो हुँदैन, साना व्यवसायीलाई प्रहरी, प्रशासन वा अन्य कुनै निकायबाट दुःख दिने काम गरियो भने त्यो कुरा संघमा लिएर सम्बन्धित व्यवसायी आउनु प¥यो । कुरा नै नआएपछि कसरी व्यवसायीको समस्या समाधान हुन्छ त ? अबको नेतृत्व कुनै पनि समस्याबाट भाग्दैन । 

अबको नेतृत्वले संघ चलाउन सक्छन् र भनेर जुन हल्ला बजारमा चलेको छ, त्यसप्रति तपाई के भन्न चाहनुहुन्छ  ?

- नवनिर्वाचित पदाधिकारीले भर्खरै शपथ लिएका छन् । नेतृत्वले कामै नगरी यस्तो हल्ला बजारमा चल्नु दुखद कुरो हो । त्यसप्रति म धेरै टिप्पणी गर्न चाहन्न । एउटा उदाहरण हर्क साम्पाङज्युको दिन चाहन्छु । एक्लै माइक लिएर भोट माग्दै हिँडेका साम्पाङले मेयरमा जित्छन् र ? जितेपछि उहाँले काम गर्न सक्नुहुन्छ र ? भनेर कुरा नचलेको पनि होइनन् । अहिले उहाँलाई नचिन्ने कोही छ र ? त्यसैले अबको नयाँ कार्य समितिमा आएका पदाधिकारीहरूले पुराना नेतृत्वले गरेका गल्तीहरूलाई महसुस गरी सच्याएर नयाँ ढंगले अगाडि बढ्नुपर्छ । संस्था भनेको व्यक्ति विशेषले चलाउने होइन । संस्था एउटा टिमवर्कले चल्नुपर्छ । व्यक्ति विशेषले चलाएको संस्था मौन हुन्छ, त्यसमा विवाद पनि हुन्छ । पदाधिकारीबीच नै विवाद बढ्दा त्यो संस्थाले अरूको हकहितमा काम गर्न सक्दैन, त्यो विवादित बन्दै जान्छ । व्यक्ति विशेषको कोठे बैठक बस्न दिँदैनौँ । 
बैठकमा सबै पदाधिकारीहरूको समान अधिकार रहन्छ । उनीहरूसँग हातेमालो गरी गरिएका निर्णयहरूलाई कार्यान्वयनमा ल्याउँछु । भद्रपुर बजारका व्यवसायलाई चलायमान बनाउन विभिन्न प्रकारका योजनाहरू ल्याउँछु । यसमा सबै क्षेत्रबाट साथ र सहयोगको अपेक्षा समेत गरेको छु ।    

पहिलाको नेतृत्व मौन बस्दा साना व्यवसायीमा जुन प्रकारको असन्तुष्टि छाएको थियो । अबको युवा नेतृत्व पनि त्यही बाटोमा जाने हो कि फरक ढंगले अगाडि बढ्छ ?

-विगतमा के भयो भन्दा पनि अबको नेतृत्वले हरेक व्यवसायको विश्वास र मन जित्नु पर्छ । त्यसतर्फ हाम्रो नेतृत्व लाग्नेमा म विश्वस्त छु । हिजोको दिनमा संघको नेतृत्वले जुन व्यवसायबाट विश्वास गुमाएको हल्ला छ । 
अब फेरि पनि हाम्रो नेतृत्व त्यही ढंगबाट अगाडि बढ्ने हो भने गुमाएको विश्वास कहिले संघप्रति फर्किँदैन । त्यसैले यो कदापि हुन दिँदैनौं । संघलाई अब पब्लिक फ्रेन्डली बनाउनु छ । अब व्यवसायको हकहितका लागि नयाँ÷नयाँ कार्यक्रम र योजना लिएर उनीहरुबीच जान्छु । संघको नयाँ टिममा प्रायजसो सबै युवा छन् । यो टिम व्यवसायको पक्षमा जहाँ, जहिले पनि उभिएर बोल्न र गर्न सक्छन् । 

संघको नेतृत्व जहिले पनि ठुला उद्योगी व्यवसायको पक्षमा मात्र बोल्छन् । साना व्यवसायको पक्षमा बोल्नै चाहँदैनन् । यसप्रति तपाईँको धारणा के छ ? 

-यो संस्था के हो भने उद्योग र वाणिज्य दुवै नाम जोडिएको संस्था हो । त्यसलाई अबको नेतृत्वले बुझ्नु जरुरी छ । उद्योग र वाणिज्य जोडिएकोले साना र ठुला व्यवसायबीच कुनै पनि मतभेद गर्न पाइँदैन ।  उद्योग र वाणिज्यमा देखिएका साझा समस्याहरूलाई समाधान गरेर अबको नेतृत्व अगाडि बढ्नुपर्छ । देशको आर्थिक अवस्थालाई हेर्दा अहिले साना र ठुला दुवै व्यवसायीलाई बैङ्कको ब्याजकै समस्या छ । बजार चलायमान छैन । व्यवसायीले सावा र ब्याज कहाँबाट तिर्ने ? त्यसैले बजारलाई चलायमान बनाउन मूल समस्याको जडसम्म पुग्नु प¥यो । सबैलाई समेटिएर अघि बढेमा नेतृत्व सफल हुनेमा म विश्वस्त छु ।  

अन्ततः संघमा आयस्रोतको कमी छ । कर्मचारीलाई समयमा तलब समेत दिन सकिरहेको छैन । यस्तो आर्थिक संकटका बीच अबको नेतृत्वले कसरी संघलाई चलायमान बनाउन छ त ?

- पहिलाका अध्यक्षहरूले कसरी संस्था चलाउनु भयो भनेर आलोचना गर्नुभन्दा पनि अब कसरी संस्था चलाउनेमा अबको नेतृत्व नयाँ ढंगबाट अगाडि बढ्छ । 
नयाँ नेतृत्व चयन हुनु भन्दा अघि नै हामीले एशोसिएट्स÷वस्तुगत सदस्य सङ्ख्या पहिलाको भन्दा बढाएका छौँ । सदस्य सङ्ख्या बढ्दा संघमा आर्थिक संकलन राम्रो जुटेको छ । यसले संघलाई चलायमान बनाउन सहयोग पु¥याउँछ । 
संघप्रति मान्छेको जुन विश्वास टुटेको थियो । त्यो विश्वासलाई पुनः जागरण गराएर अबको नेतृत्व अघि बढ्छ । चुनावको बेला मात्र सदस्यता नवीकरण गराउने जुन परिपाटी बसेको छ, त्यसको अन्त्य अबको नेतृत्वले गर्छ । 

सम्बन्धित समाचार