२०८३ बैशाख ५ गते , शनिबार

नमोबुद्ध सप्तरीले उचाल्यो प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि 

sajilo news
झापा
२०८० बैशाख १६ गते , शनिबार
नमोबुद्ध सप्तरीले उचाल्यो प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि 

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो ।

निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि नतिजाकालागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा सप्तरीका खेलाडीले गरेको ५ वटा प्रहारमा ४ वटा गोल हुँदा आयोजक ‘अल इन वान’का खेलाडीले गरेको ४ वटा प्रहारमा २ प्रहार मात्रै गोल भएको थियो । 

टाईब्रेकरमा आयोजककी एलक्स चौधरी र छतरीका चौधरीको प्रहार गोल हुँदा लक्ष्मी श्रेष्ठको प्रहरलाई सप्तरीकी गोल रक्षक पूजा रानाले विफल पारेकी थिइन् । त्यस्तै राष्ट्रिय टिमकी सदस्य समेत रहेकी सबिता राना मगरको प्रहार भने गोल पोस्टमा ठोकिएर फर्किएको थियो । 

सप्तरीका लागि रोशनी क्षत्रीले गरेको प्रहर आयोजककी गोल रक्षक एलिसा चौधरीले बचाउ गरेपनि टिम कप्तान सुमित्रा तामाङ, कविता श्रेष्ठ, सलिना राना मगर र राष्ट्रिय टिमकी सदस्य समेत रहेकी रश्मि घिसिङको प्रहार भने गोलमा परिणत भएको थियो ।

त्यसअघि आयोजकका लागि मेनुका आलेले ३९ औं मिनेटमा खेलको पहिलो गोल गरेकी थिइन् । नमोबुद्ध युवा क्लब सप्तरीकी रजनी थोकरले खेलको ४६ औं मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याएपछि नतिजाकालागि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता सप्तरीले नगद २ लाख २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजक ‘अल इन वान’ ले १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

प्रतियोगितामा राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य समेत रहेकी आयोजककी खेलाडी सबिता राना मगरले ‘प्लेयर अफ दी टुर्नामेन्ट’ को उपाधि जितिन । उनले नगद ७ हजार र ट्रफी पुरस्कार पाइन् । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोल कर्ता सप्तरीकी रजनी थोकरले ‘हाई स्कोरर ’ को उपाधि जितिन् । उनले नगद ६ हजार र ट्रफी पुरस्कार पाइन् ।

यस्तै उत्कृष्ट गोल रक्षक सप्तरीकी पूजा थापा, वेस्ट मिडफिल्डर सप्तरीकी रश्मि घिसिङ, वेस्ट डिफेन्स आयोजककी खुस्मा राई र वेस्ट स्ट्राइकर आयोजककी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनीहरूले जनही नगद ५ हजार र ट्रफी पुरस्कार पाए । यस्तै सप्तरीका अरुण राई प्रतियोगिताको वेस्ट कोच घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।  

प्रतियोगिताका विजेता र उपविजेता लगायतका खेलाडीलाई आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल, अखिल नेपाल फुटबल एसोसिएसनकी ९एन्फा०की सदस्य सरला श्रेष्ठ, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । 

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग सञ्चालन भएको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमले सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचार