२०८३ बैशाख ५ गते , शनिबार

प्रदेश स्तरीय महिला गोल्डकप : नमोबुद्ध सप्तरी फाइनलमा

sajilo news
झापा
२०८० बैशाख १४ गते , विहीबार
प्रदेश स्तरीय महिला गोल्डकप : नमोबुद्ध सप्तरी फाइनलमा

झापा । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  बिर्तामोड–१० सैनिक बजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो ।

सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य समेत रहेकी निकिता थोकरले पहिलो गोल गरिन् । त्यसपछि खेलको ५६ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य रश्मि घिसिङले गोल गर्दै टिमलाई २–० गोल अन्तरको जित दिलाइन् ।

घिसिङ ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाइन् । उनलाई राष्ट्रिय फुटबल टोलिका सहायक प्रशिक्षक प्रवेश कटुवालले पुरस्कार प्रदान गरेका थिए । 

नमोबुद्ध सप्तरीले अब उपाधिका लागि ‘अल इन वान’ क्लब बिर्तामोडसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि बुधवार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो । 

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छ ।

प्रतियोगिताको फाइनल खेल १६ गते शनिवार हुने छ । फाइनल खेलको पूर्व सन्ध्यामा भोलि शुक्रबार महिला दौड प्रतियोगिता आयोजना गरिएको आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिए।
 

सम्बन्धित समाचार