२०८३ बैशाख ३ गते , विहीबार

क्रिकेट खेल मैदान मर्मत–सम्भारका लागि श्रमदान

sajilo news
झापा
२०८० बैशाख ११ गते , सोमबार
क्रिकेट खेल मैदान मर्मत–सम्भारका लागि श्रमदान

झापा ।  भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदान मर्मतका लागि सोमबारदेखि श्रमदान सुरु गरिएको छ।  भद्रपुर क्रिकेट संघको नेतृत्वमा क्रिकेट खेल मैदान मर्मत सम्भारका लागि सुरु गरिएको श्रमदानमा पहिलो दिन स्वतःस्फूर्त रूपमा करिब १५० जनाभन्दा बढीले श्रमदान गरेका हुन्। 

विगत लामो समयदेखि संरक्षणको पखाईमा रहेको क्रिकेट खेल मैदान काँसघारीमा परिणत भएको थियो। भद्रपुरका युवा उद्यमी आदित्य पराजुलीको नेतृत्वमा क्रिकेट संघ गठन भएपछि क्रिकेट खेल मैदानको पुनः मर्मत सम्भार सुरु गरिएको हो। 

खेल मैदानलाई हाल काँसको झार काटेको, आगो लगाइएको, ट्याक्टरले जोतिएको छ भने श्रमदानमार्फत अहिले झार हटाउने कार्य भइरहेको भद्रपुर क्रिकेट संघका अध्यक्ष पराजुलीले जानकारी दिए। 

प्रहरी, भद्रपुर क्रिकेट क्लब सल्लाहकार, संरक्षक, कार्यसमिति, क्लबमा आबद्ध खेलाडी, मेची क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो। 

श्रमदान कार्यक्रम प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु हुने भएकोले सम्पूर्ण खेल प्रेमीलाई सो कार्यक्रममा सहभागी भइदिन संघले आह्वान समेत गरेको संघका सचिव शिबु बुढाथोकीले जानकारी दिए। 

२०६५ जेठ २१ गतेदेखि २०९० जेठ २० गतेसम्मका लागि नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच मेची क्याम्पस क्रिकेट मैदान सञ्चालनको लागि दुई पक्षीय सम्झौता भएको थियो। 

तत्कालीन नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य छत्रप्रसाद अधिकारी र तत्कालीन क्याम्पस प्रमुख टीका प्याकुरेलबीच सो सम्झौता भएको बताइएको छ।

सम्झौता पश्चात् क्यानको लगानीमा पिच र खेल मैदान निर्माण गरेको थियो। २०६७ फागुनमा सोही मैदानमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो। 

झन्डै १५ वर्ष अघि क्यानसँग सम्झौता भएर लाखौँ खर्च पछि पिच निर्माण भएको थियो। ‘तर क्यानमा आएको विवादले थप रकम निकासा नहुँदा खेल मैदान निर्माण तीव्र पाएन,’ संघका अध्यक्ष पराजुलीले भने, ‘यसलाई मर्मत सम्भार गरी देशकै उत्कृष्ट खेल मैदान निर्माण गर्ने र निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल आयोजना गराउने लक्ष्य बोकेका छौँ।’ 
‘संघलाई जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गरेर मेची क्याम्पससँग पुनः औपचारिक सम्झौता गर्नेछौँ,’ संघका सल्लाहकार गौरव सुब्बा मनोजले भने, ‘अहिले मौखिक सहमतिमा काम अघि बढाएका छौँ, क्यानसँग थप कुराकानी भएको छैन, बजेटका लागि तीनै तहका सरकारसँग माग गर्नेछौँ।’ क्याम्पसको क्रिकेट मैदान तयार भएपछि देशकै उत्कृष्ट बन्ने उनको भनाइ छ। 

सम्बन्धित समाचार