कहिले बन्ला हुलाकी राजमार्ग जोड्ने रतुवा, कनकाई र बिरीङ नदीको पुल ?

झापा । पूर्वको मेची पुलदेखि पश्चिमको महाकाली जोड्ने बहुप्रतीक्षित हुलाकी राजमार्ग अन्तरगत झापा जिल्लामा ४५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
सडक कालोपत्रे भएपनि तीन वटा पक्की पुलको कामले समयमा गति नपाउँदा हुलाकी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । ठेक्का लागेको एक दशक बित्न लाग्दा समेत रतुवा, कनकाई र बिरीङ नदीको पक्की पुल निर्माणाधीन अवस्थामै छ । नेकपा एमाले केपी शर्मा ओलीको झापा निर्वाचन क्षेत्र– ५ स्थित गौरीगञ्ज गाउँपालिका– ५ मा पर्ने रतुवा नदीको पक्की पुल अझै अधुरो छ ।
आर्थिक वर्ष २०६४÷०६५ मा कालिका÷गौरी पार्वती÷ओसिए जेभीले १० करोडमा ३२ लाख ९१ हजार रुपैयाँ पुल बनाउन ठेक्का लिएको थियो । २०५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले डेढ दशकदेखि अलपत्र छाडेको थियो । सम्झौता अनुसारको काम गरेको भन्दै ठेकेदार कम्पनीले काम छाडेपछि रतुवा खोलामा आधा मात्रै पुल बनेको थियो ।
नदीले पूर्व र पश्चिमतर्फको भूभाग कटान गरेपछि बनाइएको पुल नदीको बीच भागमै प¥यो । सो पुललाई पूर्णता दिन अहिले थप ७५ मिटरको ठेक्का लागिसकेको हुलाकी राजमार्ग आयोजना फिल्ड कार्यालय झापाका इन्जिनियर दीपेन्द्र चौधरीले जानकारी दिए ।
अधुरो रहेका स्थानमा जम्मा तीन वटा स्पन निर्माणका लागि देव एन्ड सायर–समता–आशिष् सन्दीप जेभीले २०७९ माघमा सम्झौता गरेको उनले बताए ।
मोरङतर्फ ५० मिटर र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिने बताउँदै उनले भने, ‘२२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो, २०८२ असार मसान्तसम्म निर्माण सक्नु पर्ने सम्झौतामा उल्लेख छ ।’ ७५ मिटर थपिएपछि पुलको लम्बाइ २८० मिटरको हुनेछ । पुललाई कटानबाट जोगाउन झापातर्फ ६ सय ५० मिटर र मोरङतर्फ १४ सय मिटरको तटबन्ध निर्माण गरिने उनले बताए ।
त्यस्तै हुलाकी राजमार्ग जोड्ने झापा गाउँपालिका २ रंगधानस्थित कनकाई माई नदीको पुलको काम पनि एक दशकदेखि सुस्त छ । आर्थिक वर्ष २०६७÷०६८ मा ३४ करोडमा ठेक्का लागेको पुलको लम्बाई ७२४ मिटर छ । कनकाई माई पुलको ठेक्का पप्पु जेभीको पार्टनर महादेव खिम्ती जेभीले लिएको हो । ११ वर्षमा पुलको काम ६० प्रतिशत मात्र सकिएको छ । अहिले पुलको काम धमाधम भइरहेको इन्जिनियर चौधरीले बताए । सो पुल सकिन अझै समय लाग्ने उनको भनाई छ ।
त्यसैगरी ११ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको झापा गाउँपालिका– ५ पन्थपडास्थित बिरीङ नदीको पुल आउँदो बर्खाअघि नै सम्पन्न भइसक्ने हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका जोड्ने बिरीङ नदी बन्दै गरेको पुलको ठेक्का लामा–मैनाचुली जेभीले ०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजारमा लिएको थियो ।
पुलको लम्बाई ३२० मिटर रहेको छ । पुलको सबै पिलरमाथिको स्यालाबको ढलान सकिसकेको र अहिले रेलिङ, फिनिसिङ लगायतको काम भइरहेको इन्जिनियर चौधरीले बताए । विरिङको पुल समयमा नबन्दा एक किलोमिटरको दुरी पार गर्न स्थानीयले ४० किलोमिटर घुमेर यात्रा गर्न बाध्य बनेका छन् ।
हुलाकी राजमार्ग जोड्ने तीन वटा पुल समयमा नबन्दा झापा र मोरङका स्थानीयले बर्खायाममा जोखिम मोल्दै डुङ्गा र हिउँदमा बाँसे पुलबाट ओहोरदोहोर गर्दै आइरहेका छन् । बाँसे पुल प्रयोग गर्दा स्थानीयले चर्को शुल्क तिर्न समेत बाध्य छन् ।