२०८० मंसीर २० गते , बुधबार

एम्बुलेन्स खरिदका लागि भद्रपुरमा चैत ३० गतेदेखि महोत्सव

sajilo news
झापा
२०७९ चैत्र २८ गते , मंगलबार
एम्बुलेन्स खरिदका लागि भद्रपुरमा चैत ३० गतेदेखि महोत्सव

भद्रपुर । एम्बुलेन्स खरिद गर्ने उद्देश्य लिएर भद्रपुर– २ स्थित सगरमाथा फाउन्डेसनले प्रथम झापा चोक कृषि तथा साङ्गीतिक महोत्सव लगाउने भएको छ । 
सामाजिक संस्थाले परिचित फाउन्डेसनले भद्रपुर– ४ स्थित झापा चोकमा यही चैत ३० गतेदेखि महोत्सव लगाउन लागेको हो । साबिक पृथ्वी नगर गाविसका केही युवाहरू मिलेर चार वर्ष अघि यस फाउन्डेसनको स्थापना गरेको हो । २०७८ सालमा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गराइ विशेष गरी स्वास्थ्य क्षेत्रमा सक्रिय भएर काम गर्दै आइरहेको फाउन्डेसनका अध्यक्ष विशाल तामाङले जानकारी दिए । 
फाउन्डेसनले अहिलेसम्म बाढीपीडितलाई राहत वितरण, मिर्गौला पीडित, असहाय तथा गरिब समुदायको बिरामीको उपचारमा सहयोग रकम जुटाउँदै आएको छ । ‘गाउँमा एम्बुलेन्स छैन, एम्बुलेन्स खरिदका लागि ७ लाख सहयोग जुटाइसकेका छौँ,’ अध्यक्ष तामाङले भने, ‘अब आवश्यक पर्ने रकम जुटाउन महोत्सव लगाउनु परेको हो ।’ 
‘महोत्सवको उद्देश्य व्यक्ति विशेषले रकम कमाउनु भन्दा पनि संस्थाको लागि सहयोग जुटाउनु हो,’ उनले भने ।रिकभरी संस्थाको सहकार्यमा महोत्सव लगाउन लागेको फाउन्डेसनका सचिव रवीन्द्र आले मगरले जानकारी दिए । आउँदो नयाँ वर्ष २०८० साललाई स्वागतसँगै महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष महत्त्व दिने बताउँदै उनले भने, ‘महोत्सवलाई भव्य र सफल बनाउन प्रशासनले बन्देज लगाएको खेलहरू खेलाइने छैन ।’ महोत्सवको तयारी धमाधम भइरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । कलाकारहरू प्रमोद खरेल, एलिना चौहान, ज्योति मगर, मेलिना राई, अस्मिता अधिकारी, बलराम राजवंशी लगायत आउने उनले जानकारी दिए । 
साथै महोत्सवमा हाउजीसहित विभिन्न मनोरञ्जनात्मक खेलहरू रहने उनले बताए । महोत्सवलाई शान्तिपूर्ण रुपमा सञ्चालनका लागि रिकभरी संस्थाले व्यवस्थापन गर्न लागेको संस्थाका सागर पौडेलले जानकारी दिए । महोत्सवमा २० बढी स्टलहरू रहने र कृषिलाई विशेष प्राथमिकता दिने उनको भनाई छ ।   

सम्बन्धित समाचार