झापा जिल्ला खेलकुद परिसरमा वृक्षारोपण
भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा बिहीबार वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर वृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिकै आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने बाटोको पश्चिमतर्फ करिब सय वटा अशोक र धूपीका बिरुवा रोपण गरिएको थियो ।
स्वस्थ नागरिक, समृद्ध समाजको परिकल्पना भन्ने नारासहित आयोजित संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि कोसी प्रदेशसभा सदस्य गोपाल तामाङ, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर झापा गोृल्डकपका अध्यक्ष दीपेश ढकाल, सचिव टहलदास मैनाली, रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईँ, खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, उपाध्यक्ष गंगाा भुर्तेल, प्रवक्ता जगण दुर्वासा कार्की, सदस्य पूर्णिमा सिटौला, कार्यालय सचिव विष्णुकुमार नेम्बाङ, प्रशिक्षक प्रमुख कालु मेचेलगायतले वृक्षारोपण गरेका थिए ।
वृक्षारोपणअघि आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष भण्डारीले दिवको सन्दर्भमा जानकारी गराएका थिए । करोते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि तामाङले पर्यावरण संरक्षण तथा वातावरण स्वच्छ राख्न वृक्षारोपण महत्त्वपूर्ण कार्य भएको भन्दै खेलकुदको विकास र स्वस्थ खेलाडी उत्पादनमा स्वच्छ र स्वस्थ वातावरणको उत्तिकै भूमिका रहने बताए । उनले वृक्षारोपण गर्नु मात्रै ठुलो कुरा नभएको बताउँदै रोपिएको बिरुवा हुर्काउन र संरक्षण गर्न आवश्यक रहेको बताए ।
भद्रपुर नगरप्रमुख पोखरेलले वृक्षारोपणले मेची रङ्गशालाको सौन्दर्यीकरणमा थप टेवा पुग्ने बताउँदै रङ्गशालाको स्तरोन्नतिमा भद्रपुर नगरपालिकाले स्रोत–र साधनले भ्याएसम्म सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
सन् २०१३ देखि प्रत्येक वर्ष मार्च ६ तारिखका दिन विश्वव्यापी रूपमै अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदै आएको छ । दुई वटा विश्वयुद्धले विश्वव्यापी पर्यावरण तथा वातावरणमा पारेको प्रभाव कम गर्न सघाउ पुर्याउने उद्देश्यले यो दिवस मनाउन थालिएको बताइन्छ ।