२०८३ बैशाख ३ गते , विहीबार

पञ्जाव किंग्सको लगातार दोस्रो जित

sajilo news
झापा
२०७९ चैत्र २३ गते , विहीबार
पञ्जाव किंग्सको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकाल्यो। राजस्थानको पहिलो हार हो। गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रनमात्र बनाउन सक्यो। 

टस हारेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९७ रन बनाएको थियो। पञ्जावका कप्तान शिखर धवनले अविजित ८६ रन बनाएका थिए। । प्रभसिम्रन सिंहले ६० रन बनाए। राजस्थानका जासन होल्डरले दुई विकेट लिए। युजवेन्द्र चहल र रविचन्द्रन आश्विनले समान एकएक विकेट लिए।

१९८ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानका कप्तान सन्जु सामसनले ४२ रन बनाए। सिमरोन हेटमायरले ३६, ध्रुव जुरेलले ३२, देवदत्त पडिकलले २१, रियान परागले २१ र जस बटलरले १९ रन बनाए।​ पञ्जावका नाथन एलिसले चार विकेट लिए भने अर्शदीप सिंहले दुई विकेट हात पारे।

जितसँगै दुई खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट दुई अंक जोडेको राजस्थान तालिकाको चौथो स्थानमा छ।

सम्बन्धित समाचार