२०८० मंसीर २० गते , बुधबार

बिर्तामोडमा डेढ सय हेक्टर मकैबालीमा क्षति

sajilo news
झापा
२०७९ चैत्र २२ गते , बुधबार
बिर्तामोडमा डेढ सय हेक्टर मकैबालीमा क्षति

बिर्तामोड । शुक्रवार साँझ हावाहुरीसहित आएको असिनापानीबाट बिर्तामोडमा मात्र डेढ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली क्षति भएको छ ।

असिनापानीले बिर्तामोडको वडा नं २ र १० मा बढी क्षति पुर्‍याएको हो । बिर्तामोड २ मा करिब ११० विगाह , वडा नं १० मा १३० विगाह , वडा नं ९ मा ४० विगाह र वडा नं ८ मा करिब २० विगाह मकैबालीमा पूर्ण क्षति पुगेको बिर्तामोड नगरपालिकाको कृषि शाखाले जनाएको छ । बिर्तामोडका चार वटा वडामा भएका क्षतिको अनुमानित तथ्याङ्क निकालिएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए । उनले राहतका लागि क्षतिको यकिन तथ्याङ्क निकाल्न सर्भे भइरहेको जानकारी दिए । उनले करिब २० विगाह तरकारी खेतीमा पनि क्षति पुगेको बताए ।

कृषि ज्ञान केन्द्र झापाले पनि बिर्तामोडमा डेढ सय हेक्टर मकैबालीमा क्षति पुगेको जनाएको छ । शुक्रवार साँझ आएको असिनापानीबाट झापामा सबैभन्दा बढी कनकाई नगरपालिकामा क्षति पुगेको छ । असिनापानीले कनकाई नगरपालिकामा २२ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पुर्‍याएको छ । क्षति पुगेको कुल क्षेत्रफलमध्ये आधा जतिमा बालीनाली रहेको छ । कनकाईमा करिब ११४३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश सिवाकोटीले बताए ।

त्यसपछि बिर्तामोड नगरपालिकामा क्षति पुगेको हो ।बिर्तामोडपछि हल्दिवारी २ र भद्रपुरको बजार क्षेत्रमा असिना परेको थियो । हल्दिवारी २ मा बालीनालीमा क्षति पुगे पनि भद्रपुरमा बजार क्षेत्र भएकाले क्षति नपुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । असिनापानीले पुर्‍याएको क्षतिको तथ्याङ्क निकाल्न ती पालिकामा सर्भे भइरहेको छ ।

करिब डेढ वर्षअघि २०७८ को कात्तिकमा आएको हावाहुरीबाट धानबालीमा भएको क्षतिको क्षतिपूर्ति किसानहरूले अझैसम्म पाएका छैनन् । त्यसबेला बिर्तामोड नगरपालिकाका २ हजार ९१५ किसानको २ करोड ४७ लाख ३० हजार मूल्य बराबरको क्षति भएको विवरण राहतका लागि पठाइएको थियो । त्यस्तै कृषि ज्ञान केन्द्रले जिल्लाभरिका किसानको ३७ करोड ६४ लाखको क्षतिपूर्ति विवरण पठाएको कार्यालय प्रमुख विष्टले बताए ।

सम्बन्धित समाचार