वडा कार्यालयमा आगो लगाएर सामान चोरी गर्ने पक्राउ
इलाम माङसेबुङ गाउँपालिका- ५ भालुटारमा रहेको वडा कार्यालय भवनमा आगो लगाई कार्यालयमा रहेको सामान चोरी गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका ३ बस्ने ३९ वर्षीय आशिष् भन्ने हस्तबहादुर लिम्बू रहेका छन् । आगजनी तथा चोरी गर्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा लिम्बुलाई शङ्का लागेर आज पक्राउ गरी कार्यालयमा ल्याई अनुसन्धान गर्दा उनले उक्त घटना आफूले गरेको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।
वडा कार्यालयबाट चोरी गरी लगेको कम्प्युटर मनिटर थान–१,स्क्यानर थान–१,राउटर थान–१,माउस थान–१ र किबोर्ड थान–१ सामानहरू बरामद गरी लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामबाट आगजनी तथा चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताए । गत चैत ९ गते राति अन्दाजी ११ बजे वडा कार्यालय भवनमा आगो लगाई कार्यालयमा रहेको सामान चोरी भएको थियो ।