किस्ता नतिर्दा एनआइसी एसिया बैंकको सुरक्षा गार्ड ऋणीको घरमा, सर्वत्र आलोचना
एनआइसी एसिया बैकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सेक्रेटरी गार्ड पठाएको छ । बैकको यस कार्यको अहिले स्थानीय रुपमा सर्वत्र आलोचना भइरहेको छ । बैँकले पैसा उठाउन चालेको यस कदमलाई दादागिरी शैली अपनाएको भन्दै सर्वत्र निन्दा समेत गरिएको छ ।
दमक नगरपालिका- ५ का दुर्गाप्रसाद कँडेलको घरमा ३ दिनदेखि बैकले घरमा बैँकका सुरक्षा गार्ड पठाएको हो । हाल कँडेलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ । आफूले व्यवसायमा समस्या आएकोले ३ महिना अगाडिदेखि बैँकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कँडेलले बताए।
४ दिन पहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफूसँग भएको १० हजार रुपैयाँ लगेर भौचर हालेकोमा सोहिदिन देखि बैँकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एक जना नियमित रुपमा सुरक्षा गार्ड राखिदिने गरेको घरधनी कँडेलले बताए । बैँकमा आफ्नो १ करोड रुपैयाँ ऋण लिएकोमा अब साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाकी रहेको कँडेलले बताए । घरमा पाहुनाहरू आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्जती भएको श्रीमती चन्द्रकला कँडेलले बताए । बैँकले समयमा साँवा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरूलाई बन्धक बनाउँदा स्वतन्त्र पूर्वक बाच्न पाउने हकबाट वञ्चित गराएको कँडेल परिवारको गुनासो छ ।
यसबारेमा नेपाल राष्ट्रिय बैँकका सहायक प्रवक्ता नारायणप्रसाद पौडयालले एनआईसी मात्रै नभएर कुनै पनि बैँकले यसरी ऋणीको घरमा सुरक्षा गार्ड राख्नु केन्द्रीय बैँकको नीति विपरीत भएको बताएका छन् । बैँकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तौरतरिका हुँदाहुँदै बैँकले यसो गर्नु बैँकको नीति विपरीत भएको प्रवक्ता पोखरेलले बताए ।
यता एनआइसी एसिया बैँकका दमक शाखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणीको घरमा बैँकले सुरक्षा गार्ड पठाएको बताउँदै यसको सम्पूर्ण जिम्मेवार बैँकको केन्द्रीय समितिले हेर्ने भएकोले किन सुरक्षा गार्ड पठाइयो भन्ने बारेमा आफूलाई केहिपनि जानकारी नभएको बताए ।