आइपीएल : चेन्नाईसँग लखनउ पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्ग्सले मा लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ। गएराति एमए चिदम्बरम रंगशालामा भएको खेलमा चेन्नाईले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०५ रनमात्र बनायो।
लखनउका काइल मयेर्सले २२ बलमा आठ चौका र दुई छ्क्कासहित ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन्। निकोलस पुरनले ३२, आयुश बडोनीले २३, मार्कुस स्टोइनिसले २१, कप्तान लोकेश राहुलले २०, कृष्णप्पा गोथमले १७ र मार्क उडले १० रन बनाए। चेन्नाईका मोइन अलिले चार विकेट लिए। तुसार देशपान्डेले दुई र मिचेल स्यान्टनरले एक विकेट लिए।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१७ रनको योगफल खडा गरेको थियो। चेन्नाईका ओपनर रितुराज गाइकवाडले ३१ बलमा तीन चौका र चार छक्कासहित ५७ रन बनाएका थिए। डेवोन कोन्वेले ४७ रन बनाउँदा सिवम दुबे र अम्बती रायडुले समान २७ रन थपे। मोइन अलिले १९ र कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए। लखनउका मार्क उड र रवि बिस्नोइले समान तीन विकेट लिए। अवेस खानले एक विकेट हात पारे।