कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि शिवसताक्षी र मेचीनगर भिड्ने
बिर्तामोड । शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा झापा गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि भिडन्त तय गरेको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा शिवसताक्षीका लागि एक मात्रै गोल श्रवण मल्लिकले गरे । ५६ औं मिनेटमा डी–एरिया नजिकबाट उनले गरेको प्रहार झापाका टिम कप्तान समेत रहेका गोल रक्षक गजेन्द्र थपलियाले बचाउ गर्न नसक्दा टिमले हार व्यर्होयो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा ५६ मिनेटसम्म दुवै टिमले कुनै पनि स्कोर गर्न सकेका थिएनन् । त्यसपछि १–० गोल अन्तरले पछि परेको झापाले खेल बराबरी गर्ने थुप्रै प्रयास गरे पनि सफल हुन नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो ।
शिवसताक्षीको जितका लागि नायक बनेका मल्लिक खेलको म्यान अफ दी म्याच घोषित भए । उनले २५ सय नगद र ट्रफी पुरस्कार पाए ।
त्यस्तै आजै भएको पहिलो सेमिफाइनलमा बाह्रदशी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेको मेचीनगरले अब उपाधिका लागि शिवसताक्षीसंग भिड्ने छ ।
मेचीनगरको जितका लागि खेलको ९ औं र २५ औं मिनेटमा रोजित अलिले २ गोल गरे । उसका लागि टिम कप्तान विशाल जवेगुले थप एक गोल गरेका थिए । बाह्रदशी गाउँपालिकाले भने मेचीनगर विरुद्ध कुनै पनि स्कोर गर्न सकेन । मेचीनगरका लागि २ गोल कर्ता रोजित अलि खेलको म्यान अफ दि म्याच चुनिए । उनले २५ सय नगद र ट्रफी पुरस्कार पाए ।
प्रतियोगिताको फाइनल खेल आगामी चैत्र २४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।