स्कुटरको भाइजरमा ब्राउन सुगर ल्याउने दुई जना मेची पुलबाट पक्राउ
झापा । स्कुटरको भाइजरभित्र लागू औषध ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्कुटर चालक शिवसताक्षी नगरपालिका- १ निवासी २४ वर्षीय प्रजन्त राई र सोही स्कुटरको पछाडि सवार बाँके नेपालगन्ज उपमहानगरपालिका ६ घर भई हाल बिर्तामोड नगरपालिका- १ मा डेरा गरी बस्ने २१ वर्षीय सोहन भडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार मङ्गलवार दिउँसो साढे ४ बजे इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर नगरपालिका- ६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३८०७ नम्बरको स्कुटरमा उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ४ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरूले स्कुटर भाइजरभित्र लुकाइछिपाई ब्राउन सुगर ल्याएका थिए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।