कचनकवलको मोती माविका विद्यार्थीलाई आगलागी घटना रोकथाम अभ्यास

कचनकवल । झापाको कचनकवल गाउँपालिका- ३ स्थित मोती माध्यमिक विद्यालयका हामी स्वयंसेवी समूहले आगलागी घटना रोकथाम सम्बन्धी अभ्यास सम्पन्न गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय रेडक्रस नेपालका अभियन्ता भक्तबहादुर विश्वकर्माले विद्यार्थीहरूलाई विपद् पूर्वको तयारी एवं विपद् जोखिम न्यूनीकरण सम्बन्धी सहजीकरण गरेका थिए । उनले आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यासमा नआत्तिई धैर्यताका साथ आगो निभाउन सकिने विभिन्न विधिहरूको अभ्यास गरेर देखाएका थिए ।
हामी स्वयंसेवी समूहकी उपाध्यक्ष गायत्री राजवंशीको अध्यक्षतामा तथा विद्यालय स्तरीय कार्यक्रम कार्यान्वयन समितिका संयोजक प्रधानाध्यापक छविलाल बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन समूहको सचिव विपिन खतिवडाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले चैत र बैशाख महिना सुख्खा र हावाहुरीको मौसम भएकाले आगलागीको उच्च जोखिम हुने र सानो लापरबाहीले ठुलो धनजनको क्षति हुन नदिनबाट बचाउन हामी स्वयंसेवी समूहको लागि पर्नुमा जोड दिए ।
मोती माविका अधिकांश विद्यार्थीका अभिभावक स्थानीय जलथल चारकोसे वनको उपभोक्ता भएकाले वन जंगलमा हुन सक्ने सम्भावित डढेलोको जोखिमबाट बच्न यस्ता सचेतनामूलक कार्यक्रमको आवश्यकता रहेको उनको भनाई छ । हामी स्वयंसेवी समूहले गत शुक्रबार लागूपदार्थ दुर्व्यसन र सुर्तीजन्य पदार्थको सेवन र दुर्व्यसनले पार्ने असर बारे सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।
कोसी प्रदेश सरकारले सम्पूर्ण माविमा हामी स्वयंसेवी अभियान सञ्चालनमा ल्याएको छ। सामाजिक मन्त्रालयले विद्यालय अन्तर्गत सञ्चालनमा ल्याएको सगरमाथा टिन्स क्लबलाई नै हालका दिनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहत राखेर हामी स्वयंसेवी समूह सञ्चालनमा ल्याएको हो । कक्षा ९ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयका १३ वर्ष देखि १९ वर्ष सम्मका विद्यार्थीहरूको सहभागितामा प्रत्येक मावि सञ्चालित विद्यालयमा समूह गठन गर्नुपर्ने भएता पनि धेरै जस्तो विद्यालयमा उक्त हामी स्वयंसेवी समूह गठन गरिएको छैन ।