ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार तेस्रो जित
आशिष चौधरीको निर्णायक गोलप्रेरित चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा विजयी भएसँगै नवप्रवेशी चर्च ब्वाइजले लिगमा सतप्रतिशत नतिजा कायम राखेको छ।
हिमालयन शेर्पामाथि निरन्तर दबाबमा बनाएको चर्च ब्वाइजका लागि आशिषले २० औं मिनेटमा गोल गरेका थिए। एरिक विष्टको पासमा उत्कृष्ट रन बनाएका आशिषले पेनाल्टी एरिया भित्रबाट उत्कृष्ट फिनिसिङ गरे।
दोस्रो हाफमा खेलमा फर्किने कोशिस गरेको हिमालयन शेर्पाका सत्यम शर्माले ७६औं मिनेटमा गरेको उत्कृष्ट प्रहार गोलमा परिणत हुन सकेन। पेनाल्टी एरिया अगाडिबाट सत्यमले गरेको सशक्त प्रहारमा चर्च ब्वाइजका गोलकिपर प्रिसो बाधक बनेका थिए।
जितसँगै सुरुवाति तीन खेलमा जित निकालेको चर्च ब्वाइज लिग तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको चर्च ब्वाइजले दोस्रो खेलमा खुमलटार एफसीलाई हराएको थियो। शुक्रबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले खुमलटार एफसीलाई २–० ले पराजित गरेको थियो।