२०८३ बैशाख ५ गते , शनिबार

विश्वकप लिग-२ : पिएनजीलाई ३ विकेटले हराउँदै नेपाल विजयी

sajilo news
झापा
२०७९ फाल्गुन १९ गते , शुक्रबार
विश्वकप लिग-२ : पिएनजीलाई ३ विकेटले हराउँदै नेपाल विजयी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ३ विकेटले पराजित गरेको छ। पिएनजीले जितका लागि दिएको १८० रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा १२ बल खेल्न बाँकी रहँदै भेट्टायो। सन्दीपले चौका प्रहार गर्दै नेपाललाई विजयी बनाए।

कप्तान असद भालाको बलिङबाट उत्प्रेरित पिएनजीसँग पराजयको संघारमा पुगेको नेपालले आशिफ शेखको अविजित ८६ रन र सन्दीप लामिछानेको अविजित ३५ रनले जितमा बदल्न सफल भएको हो।

अविजित रहेका शेखले १३० बलको सामना गरेर आफ्नो पालीमा १ छक्का र २ चौका प्रहार गरे भने सन्दीपले ५० बल खेलेर ३ चौका प्रहार गरे। 

यसै शृंखलाको पहिलो खेलमा नेपालले पिएनजीलाई सजिलै पराजित गरेको भए पनि आजको खेलमा भने जितका लागि कडा परिश्रम गर्नुपरेको थियो।

युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै पिएनजीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। 

नेपालले दोस्रो ब्याटिङ गरेको पिएनजीसँगको खेलमा पनि ओपनिङ शुरुवात खराब रह्यो। ओपनर कुशल भूर्तेल पालीको पहिलो बलमै गोल्डेन डक भएपछि नेपालले पहिलो बलमै विकेट गुमाउन पुग्यो। उनलाई सेमो कामियाले बोल्ड गरे। यति वेला नेपालको स्कोर शून्य रन थियो।

भूर्तेल आउट भएपछि मैदानमा आएका ज्ञानेन्द्र मल्ल पनि पाँचौं ओभरमा नेपालको कुल स्कोर १४ रहेका वेला २० बल खेलेर ६ रनमात्र बनाएर कामियाकै बलमा क्याच भए।

१४ रनमा २ विकेट  गुमाएको नेपालको तेस्रो विकेट भीम सार्कीका रुपमा १६औं ओभरमा खस्यो। ३५ बल खेलेर ८ रन बनाएका उनलाई कुल स्कोर ४६ रन रहँदा  पिएनजीका कप्तान असद भालाबाट कट एन्ड बोल्ड भए।

१८औं ओभरमा नेपालका ‍कप्तान कुल स्कोर ५१ रन हुँदा पिएनजीका कप्तान भालाको बलमा क्याच आउट भए। चौथो विकेटका रुपमा आउट हुनुअघि उनले ८ बल सामना गर्दै १ रनमात्र जोड्न सके।

आरिफ शेखका रुपमा नेपालको पाँचौं विकेट ढलेको थियो। कप्तान रोहित आउट भएलगत्तै १८ औं ओभरमा नै शेख पनि कुल स्कोर ५३ रन हुँदा पिएनजीका कप्तान भालाको बलमा बोल्ड भए। उनले जम्मा ३ बल खेलेर १ रन बनाए।

२३औं ओभरमा कुल स्कोर ७४ रन हुँदा नेपालकोछैटौं विकेट खस्यो। छैटौं विकेटका रुपमा जम्मा १६ बलमात्र खेलेर ८ रन जोड्दै दीपेन्द्रसिंह ऐरी सेसे बौको बलमा एलबिडब्लु धरापमा परे।

अर्का भरपर्दा खेलाडी कुशल मल्ल ३२ओं ओभरमा कुल स्कोर १०५ रन हुँदा नेपालको सातौं विकेटका रुपमा सेसे बौको शिकार हुन पुगे। बौबाट कट एन्ड बोल्ड हुनुअघि उनले २६ बलमा २ चौकाको सहायताले २३ रन बनाए। 

पिएनजीका लागि कप्तान असद भालाले ३ विकेट‚ सेमो कामियाले र सेसे बौले २/२ विकेट लिए।

युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पिएनजीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। 

पिएनजीका लागि टोनी उर्राले सर्वाधिक ३९ रनको योगदान गरे। हिरि हिरिले ३१ तथा किप्लिन डोरिगाले २६ रन जोडे। कप्तान असद भाला पनि ११ रन बनाएर सस्तैमा समेटिए भने पनि सेसे बौ पनि ११ रन बनाएर आउट भए। गाउडी टोकाले १५ रन‚ नोर्म्यान भानुआले १४ रन बनाए।

बलिङतर्फ दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २/२ विकेट लिए। सन्दीप लामिछाने‚ कुशल मल्ल र करण केसीले १/१ विकेट लिए। 

तेस्रो स्थानमा रहेर एकदिवसीय मान्य जोगाउँदै विश्वकपको क्वालिफायर खेल्न नेपाल र युएई मुख्य प्रतिस्पर्धामा छन्।

समान खेल खेलेको युएईको ३१ अंक छ भने आजको जितपछि नेपालको ३० अंक भएको छ र युएईसँगको अंक दूरी १ अंकले घटेको छ।

सीधै विश्वकप छनोट खेल्ने नेपालको सपना पूरा हुन बाँकी सबै ५ खेल जित्नुपर्ने दबाब छ। नेपालले बाँकी सबै खेल जिते पनि युएईले कुनै एउटा खेल हार्नुपर्छ।

यस सिरिजअन्तर्गत नेपालले अब आगामी सोमबार युएईसँग खेल्नेछ। आइतबार पिएनजीसँग हुने खेलमा युएई पराजित भएमा नेपाललाई थप फाइदा पुग्नेछ।

सम्बन्धित समाचार