भद्रपुरका पूर्वफुटबलर गम्भीर राईलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
न्यूरोड टिम (एनआरटी) लाई सहिद स्मारक 'ए' डिभिजन लिगको जित दिलाउन महत्वपूर्ण योगदान पुराएका गम्भीर राईलाई भद्रपुर झापा गोल्डकप आयोजक समितिले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
२०२५ साल फागुन ५ गते जन्मिएका पूर्व फुटबलर राईलाई प्रथम भद्रपुर झापा गोल्डकपको फाइनल खेलअघि लाइफटाइम एचिभमेन्ट अवार्डसँगै एक थान टिभिएस मोटरसाइकल प्रदान गरिएको छ । १४ वर्षदेखि फुटबल खेलमा आवद्ध झापा भद्रपुरका राई यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए । उनी एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मस्र्याङ्दीजस्ता चर्चित क्लबमा आवद्ध रही अन्तर्राष्ट्रिय तीन गोल पनि गरेका थिए । झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदमा रहिसकेका सम्मानित राईले २०५६ सालमा सन्यास लिएका थिए । उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । फुटबल खेलको सुदृढिकरण र विकासमा महत्वपूर्ण योगदान पुराएको उल्लेख गर्दै भद्रपुर झापा गोल्डकपले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको जनाएको छ ।