वाल्मीकिका उत्कृष्ट खेलाडीलाई सम्मान
गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वाल्मीकि एजुकेसन फाउन्डेसनले खेलकुद क्षेत्रमा समेत अब्बल भएको छ । तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका हुन् । खेलकुद क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेसँगै वाल्मीकि एजुकेसन फाउन्डेसनले बुधवार विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबबीच विद्यार्थीलाई सम्मान सहित ट्रफी र मेडल प्रदान गरेको छ ।
वाल्मीकिमा अध्ययनरत विद्यालय स्तरदेखि उच्च शिक्षा अध्ययनरत विजेता खेलाडी ,सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
हिसान स्पोर्टस मिट – २०७९ अन्तर्गतका खेलहरूमा फुटबलमा फर्स्ट रनर अप र क्रिकेटमा सेकेन्ड रनर अप, प्याब्सन झापाद्वारा आयोजित नगर स्तरीय सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्यतर्फ तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई सम्मान गरिएको हो ।
तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९, को आयोजनामा सम्पन्न बिर्तामोड नगर स्तरीय कराँते प्रतियोगितामा प्रथम, पुरुष भलिबल अन्तर्गत दोस्रो, कबड्डी (महिला) मा दोस्रो, भलिबल (महिला) तर्फ तेस्रो पुरस्कार विद्यालयको प्राङ्गणमा वितरण गरिएको हो ।
विद्यार्थीहरूको प्रतिभा, मिहेनत र लगनशीलताको प्रोत्साहन गर्न सकेमा उनीहरूको भविष्य उज्यालो हुने विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले बताए । पुरस्कार वितरण विद्यालयका लागि गौरवको क्षण रहेको र विद्यालयका सम्पूर्ण शिक्षक, विद्यार्थी र प्रशासन विभागको अथक मेहनतले यो उपलब्धि हासिल गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद समेत दिए । कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल सुबोध लामाले गरेका थिए ।