मेचीनगरका जनप्रतिनिधिलाई फुटबल हराउँदै पत्रकारको टिम विजयी
मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार टिम विजयी भएका छन् ।
कवि शिरोमणि माविको खेल मैदानमा भएको सो मैत्रीपूर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरूलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको तर्फबाट विश्वास दाहाल र गोविन्द घिमिरेले एक(एक गोल गरेका थिए भने जनप्रतिनिधिको टिमबाट विशाल कार्कीले गोल गरेका थिए । पत्रकार र जनप्रतिनिधिहरू बिच मैत्री भाव कायम राख्ने उद्देश्यले खेलको आयोजना गरिएको वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले बताए ।
उक्त खेल सकिएपछि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर उपप्रमुख मिना उप्रेतीद्वारा पत्रकार टोलीका कप्तान डम्बर बराल र जनप्रतिनिधि टोलीका कप्तान मेचीनगर ९ का वडाध्यक्ष कञ्चन तामाङलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।