आम्दा मेची अस्पतालमा आयो २२ लाख मुल्य बढीको स्वास्थ्य उपकरण
मेचीनगर । झापाको मेचीनगर- १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो ।
गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, संविधान सभा सदस्य रविन कोइराला, मेची उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष ऋषि तिम्सिनालगायतको टोली काठमाडौँ गई आम्दा नेपालका प्रमुखहरूसँग भेटेर अस्पताल व्यवस्थित बनाउँदै मेचीनगर क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने विषयमा छलफल गरेको थियो । त्यही छलफलबाट १५शय्याको अस्पताललाई निकट भविष्यमा नै ५०शय्यामा स्तर वृद्धि गर्ने उद्देश्य अगाडी बढाइएको थियो ।
त्यही छलफल अनुसार अहिले अस्पतालमा नयाँ उपकरणहरू थप भइरहेको छन् । थप भएका उपकरणहरूमा २० लाख मुल्य बराबरको युएसजी मेसिन, तथा २ लाख बराबरको माइनर ओटीका सामाग्री र एएनसी चेकअपका लागि आवश्यक उपकरण रहेको अस्पताल प्रशासनले जनाएको छ । प्रयोगशाला, इमर्जेन्सी सेवा, जेनेरल ओपिडी सेवा, इसिजी सेवा, डिजिटल एक्स-रे सेवा भइरहेको छ । त्यसमा थप अब माइनर ओटी, एएनसी चेकअपलगायतका सेवाहरू पनि उपलब्ध हुनेछन् ।
अस्पतालमा प्राप्त उपकरण अवलोकन गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगर नगरपालिकाका नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न आफूहरू लागि परेको बताए । उनले स्थानीय क्षेत्रमा नै सर्वसुलभ रुपमा सुविधा युक्त स्वास्थ्य सेवा प्रवाह गर्न आम्दा मेची अस्पताललाई व्यवस्थित बनाउन लागि परेको बताए । तर,उनले अस्पतालको स्वामित्व कसले लिने भन्ने कुरामा केही प्राविधिक समस्या रहेका कारण मेचीनगरले सोचे अनुरूप अगाडी अझै बढ्न नसकिरहेको बताए ।
अस्पताल परिसरमा आज भएको भेलामा मेचीनगर प्रमुख बुढाथोकी, मेची उद्योग वाणिज्य संघ अध्यक्ष तथा आम्दा मेची अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष खेमराज प्रसाईँ, निवर्तमान मेची उद्योग वाणिज्य संघ अध्यक्ष तथा आम्दा मेची अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष ऋषि तिम्सिना, आम्दा नेपाल सचिव यज्ञराज पाठक, आम्दा मेचीका मेसु पोषण रमण त्रिपाठी, आम्दा अस्पताल दमक मे।सु प्रकाश शर्मा, आम्दा अस्पताल दमक प्रशासक सुमन कुमार नेपाल, मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत, आम्दा मेचीका वरिष्ठ सहायक किरण निरौला, सहायक प्रशासन तारा थापा, मेचीनगर प्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष् पौडेललगायतको उपस्थिति रहेको थियो ।