वीरेन्द्रले उचाल्यो भद्रपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि, सगरमाथा उपविजेता
भद्रपुर । भद्रपुर नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्र माविले उचालेको छ । भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबार भद्रपुर माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा वीरेन्द्रले ८ स्वर्ण, ३ रजत र ६ कांस्य गरी १७ पदक जित्दै उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै वीरेन्द्रले नगद १५ हजारसहित ट्रफि पाएका छन् । प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र १ कांस्य गरी ९ पदक जित्दै सगरमाथा मावि उपविजेता बनेका छन् । सगरमाथाले नगद १० हजार र ट्रफि पाएका छन् । त्यस्तै एसएस निकेतन अङ्ग्रेजी माविले ४ स्वर्ण, ४ रजत र ४ कांस्य गरी १२ पदक जित्दै तेस्रो स्थान र चन्द्रभानु ज्योति माविले ४ स्वर्ण, ४ रजत र १ कांस्य गरी ९ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ७ र ५ हजार नगदसहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट हुने विद्यालयहरूलाई नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले नगदसहितको ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा नगर क्षेत्र भित्रका सामुदायिक र निजी गरी दुई दर्जन विद्यालयको सहभागिता रहेको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । फुटबलतर्फ सगरमाथा मावि प्रथम, हिमाली मावि द्वितीय र विभूति विद्या मन्दिर तृतीय भएका थिए । छात्र कबडीतर्फ वीरेन्द्र मावि प्रथम, भद्रपुर मावि द्वितीय र चन्द्रभानु तृतीय भएका थिए । छात्रा कबडीतर्फ वीरेन्द्र मावि प्रथम, चन्द्रभानु द्वितीय र मोरन मेमोरियल तृतीय भएका थिए । त्यस्तै छात्र भलिबलतर्फ सिद्धार्थ शिशु सदन प्रथम, हिमाली मावि द्वितीय र एसएस निकेतन तृतीय भएका थिए । छात्रा भलिबलतर्फ वीरेन्द्र मावि प्रथम, एमरेल्ड एकेडेमी द्वितीय र हिमाली मावि तृतीय भएका थिए ।

त्यसैगरी छात्रा ३००० मिटर दौडतर्फ सगरमाथा माविकी बिन्दा राई, मोरानकी गीता उराउ द्वितीय र ब्राइट स्टारकी अस्मिता राजवंशी तृतीय भएकी थिइन् । छात्र ३००० मिटर दौडतर्फ भद्रपुर माविका सञ्जीव टुडु प्रथम, वीरेन्द्र माविका सुनिराम हेमरम द्वितीय र एसएस निकेतनका उदेश कामती तृतीय भएका थिए । त्यस्तै छात्रा ४०० मिटर दौडतर्फ चन्द्रभानुकी सङ्गीता किस्कु प्रथम, सेन्ट कुजुर एकेडेमीकी सुविना शाक्य र भद्रपुर माविकी इन्दिरा भट्टराई तृतीय भएकी थिइन् । छात्र ४०० मिटर दौडतर्फ वीरेन्द्रका रञ्जित राय प्रथम, एसएस निकेतनका बबिन मगर द्वितीय र विभूतिका सलन सुनुवार तृतीय भएको नगर शिक्षा प्रमुख प्रेम भुजेलले जानकारी दिए । नगर स्तरीय प्रतियोगिताको विभिन्न खेलहरूमा स्वर्ण पदक ल्याउने विद्यालय र खेलाडीहरू जिल्लास्तरीय प्रतियोगितामा भाग लिने उनले बताए ।

.jpg)
