२०८३ बैशाख २४ गते , विहीबार

नेपाल रेडक्रसलाई ३० वटा एम्बुलेन्स हस्तान्तरण

sajilo news
झापा
२०७९ माघ २५ गते , बुधबार
नेपाल रेडक्रसलाई ३० वटा एम्बुलेन्स हस्तान्तरण

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले २२ जिल्ला शाखा र ८ उपशाखाहरूलाई गरी ३० वटा ‘ख’ वर्गका एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका महासचिव जगन्नाथ चापागाईंले एम्बुलेन्सहरू हस्तान्तरण गरे । आईएफआरसीले अन्य १५ वटा जिल्लाका एम्बुलेन्स ‘ख’ वर्गमा स्तरोन्नति गरेको छ ।

रेडक्रसका अनुसार नेपाल सरकारको राष्ट्रिय एम्बुलेन्स नीतिअनुरूप पुराना एम्बुलेन्सको स्तरबृद्धि गर्ने र नयाँ खरिद गर्दा ‘ख’ वर्गको एम्बुलेन्स खरिद गर्ने नीतिअनुरुप राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ र रेडक्रसले अवलम्बन गरेको स्तरबृद्धिको नीतिअनुसार एम्बुलेन्सहरू खरिद गरिएको हो । यो सँगै रेडक्रसको एम्बुलेन्स सेवा नेपाल रेडक्रस सोसाइटीका देशभरका ६८ जिल्लाका २७५ स्थानसम्म पुगेको छ ।

एम्बुलेन्स हस्तान्तरण गर्दै महासंघका महासचिव चापागाईले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन भएको पहल अन्तर्गत एम्बुलेन्स हस्तान्तरणसम्मको अवस्था आएको बताए । ‘एम्बुलेन्स बाहान मात्रै हो, यसले जीवन बचाउँछ, त्यसैले यो मानव समुदायको जीवनदाता नै हो,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले प्रभावकारी एम्बुलेन्स सेवा सञ्चालन गर्न उति धेरै सजिलो नभएको भन्दै अझैपनि रेडक्रसको सेवामा सुधारको आवश्यक रहेको बताए । ‘ख’ वर्गका एम्बुलेन्स प्राप्त गर्नेमा इलाम, झापा, तेह्रथुम, संखुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, वैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखाहरू छन् ।

सम्बन्धित समाचार