चिया श्रमिकका लागि रासन कार्डको व्यवस्था मिलाउनु पर्नेमा सरोकारवालाको जोड
सरकारले चिया श्रमिकका लागि रासन कार्डको व्यवस्था कार्यान्वयन ल्याए मात्र श्रमिकको समस्या समाधान हुने बताइएको छ । संवाद समूह झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको चिया क्षेत्रका समस्या÷सवालहरूबारे पत्रकारहरूसँगको कार्यशालामा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भूपाल सापकोटाले दैनिक चार सय ३५ रुपैयाँ ज्यालाको भरमा चिया श्रमिकले परिवार पाल्नुपर्ने बाध्यता रहेको बताए । सरकारले चिया श्रमिकका लागि रासन कार्डको व्यवस्था गरिदिए मात्र सबै माग सम्बोधन हुने उनको भनाई छ सरकारले २० देखि २५ करोड रुपैयाँ चिया क्षेत्रका लागि छुट्टाएर श्रमिकलाई रासन कार्डको व्यवस्था गरे उपयुक्त हुने उनको धारणा छ ।
वार्षिक अर्बौँ रुपैयाँ विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदे वाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणाको पहल गर्नुपर्नेमा पनि सहभागी सरोकारवालाले जोड दिएका थिए । त्यस्तै चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति निर्माण गर्नुपर्ने, चिया निर्यातमा भारतीय अवरोध हटाउन तत्काल सङ्घीय सरकारसँग समन्वय गरी कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूको माग रहेको छ ।
श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी–निजी चिया क्षेत्रमा कार्यान्वयन गराउनु पर्ने, यस प्रदेशमा चियाको गुणस्तर परीक्षण गर्ने ल्याब स्थापना गर्नुपर्ने, आवश्यकता बमोजिम यसै प्रदेशमा चिया विकास बोर्ड स्थापना वा सङ्घीय चिया बोर्डलाई यस प्रदेशमा ल्याउनु पर्ने र चिया अक्सन बजारको व्यवस्था गर्न प्रदेश सरकारमार्फत तत्काल पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले चिया क्षेत्रमा मलको समस्या, साना किसान तथा सहकारीका समस्या, श्रमिकका समस्या र उद्योगीका समस्यालाई सम्बोधन गर्नका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री सिटौलाले चिया खेतीमा सिँचाइ गर्दा लाग्ने विद्युत् महसुल छुटका लागि तत्काल काम अगाडि बढाउने बताएका छन् ।
चिया क्षेत्रको समस्या समाधानका लागि आफ्नो मन्त्रालय मार्फत प्रदेश सरकारबाट विशेष निर्णय गरेर अघि बढ्ने र सङ्घीय सरकार समक्ष समेत पहल गर्ने उनको भनाइ थियो । चिया क्षेत्रसँगै कृषि र सहकारी क्षेत्रमा धेरै समस्या रहेको र राजनीतिक अस्थिरताका कारणले तिनको निराकरण हुन नसकेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय चिया विकास तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रको अवस्था र देखिएका समस्या समाधानका उपायका बारेमा प्रस्तुति गरेका थिए ।
चिया श्रमिकहरूको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले श्रमिकहरूले भोग्नु परेका समस्या, केन्द्रीय चिया सहकारी संघ नेपालका अध्यक्ष हर्कबहादुर तामाङले साना किसान तथा सहकारीले भोग्नु परेका समस्या र नेपाल चिया उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेशकुमार मित्तलले चिया उद्योगीले भोग्नु परेका समस्याका बारेमा पत्रकारहरूलाई जानकारी गराएका थिए ।
चिया विज्ञ मनोज ढकाल, चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया बोर्डका कृषि प्राविधिक अनन्त ढुङ्गाना तथा सुमन त्रिखत्री, फाफुनका सन्तकुमार राई, फाफुन चिया क्षेत्रका सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा, साना चिया किसानका तर्फबाट पर्वत डाँगी, चन्द्र तामाङ, गणेशकुमार आचार्य लगायतको सहभागिता रहेको कार्यक्रममा पत्रकार अर्जुन राजवंशीले देखिएका समस्या समाधानमा मिडियाले खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने सवालका बारेमा प्रस्ट्याएका थिए ।