२०८१ मंसीर ३० गते , आईतबार

बिर्तामोडको कृषिथोक बजारका सटरमा तालाबन्दी

sajilo news
झापा
२०७९ माघ ११ गते , बुधबार
बिर्तामोडको कृषिथोक बजारका सटरमा तालाबन्दी

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा सम्झौता विपरीत व्यापार गर्नेलाई कारबाही गर्न थालिएको छ । कृषिथोक बजार व्यवस्थापन समितिले सम्झौता विपरीत व्यापार गर्नेहरूको सटरमा मङ्गलवारदेखि तालाबन्दी गर्दै कारबाही थालेको हो ।

२० जनाको नाममा रहेको २८ वटा सटरमा तालाबन्दी गरिएको छ । त्यसमध्ये अधिकांश सम्झौता विपरीत व्यापार गरिरहेको उक्त अभियानका संयोजक खगेन्द्र महतोले जानकारी दिए ।

मङ्गलवार बजार समिति, वडाका प्रतिनिधि, स्थानीय प्रहरी प्रशासन समेतको सहभागितामा सम्झौता विपरीत व्यापार गर्नेहरूको सटरमा तालाबन्दी गरिएको हो । सागसब्जीको व्यवसाय गर्ने सम्झौता गरेर फलफूलको व्यापार गर्नेहरू सुनिल गुप्ता, प्रभु शाहको सटरमा ताला लगाइएको छ । फलफूल व्यापार गर्ने सम्झौता गरेर विऊविजनको व्यापार गर्ने डिल्लीप्रसाद उप्रेती, किराना गर्ने कल्पना भट्टराई, ग्यासको व्यापार गर्ने लक्ष्मी ओली, सब्जीको सम्झौता गरेर किराना गर्ने कमलप्रसाद चापागाईँ, प्लास्टिकका बोरा, झोला बेच्ने लालबाबु शाहको सटरमा तालाबन्दी गरिएको छ ।

यस्तै, कृषिजन्य व्यापारका लागि सम्झौता गरेर प्लास्टिकको व्यापार गर्ने बद्री चौधरी, दलनतेलहको सम्झौता गरेर डोको बेच्ने पवित्रादेवी उप्रेती,कृष्णप्रसाद खतिवडा, क्यान्टिनको सम्झौता गरेर दलनतेलनको व्यापार गर्ने पवित्रा नेपाल, दलनतेलनको सम्झौता गरेर सब्जी बेच्ने खड्ग राजवंशी, गौतम राजवंशी, खुद्रा सब्जी बेच्ने सम्झौता गरेर मासु बेच्ने लालबाबु शेखको पसल बन्द गराइएको छ ।

त्यसैगरी समितिले आफूखुसी संरचना तोडमोड गर्नेहरू पीयूष कोठारी, हरि शाह, बद्री चौधरी, उत्तम सिवाकोटी, विनोद कार्की, मनिषा शाह, रामकुमारी शाह, गुलाब नबिलाई संरचना पुरानै अवस्थामा फर्काउन सचेत गराइएको छ ।

बजारभित्र मिल सञ्चालन गर्नेलाई तत्काल मिल सञ्चालन बन्द गर्न समितिले आग्रह गरेको छ भने नवराज खतिवडा र सञ्जय कार्कीलाई बजारमा निर्देशिका विपरीतको व्यापार नगर्न भनिएको छ ।

सम्झौता विपरीत व्यापार व्यवसाय गर्नेहरूलाई सम्झौता अनुरूप व्यवसाय सञ्चालन गर्न समितिले पूर्व जानकारी गराएको अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए । समितिका अध्यक्ष पौडेलका अनुसार सोमवार पनि २४ घण्टे अल्टिमेटम दिइएको थियो, अटेरी गरेपछि तालाबन्दी गरिएको हो ।

बिर्तामोडको कृषिथोक बजार व्यवस्थापन समितिले कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ बमोजिम व्यवसाय सञ्चालन गर्न पाइने जनाएको छ । निर्देशिका विपरीत व्यापार गर्न पाइँदैन, अध्यक्ष पौडेलले भने – हामीले निर्देशिका मात्रै पालना गर्न सकियो भने सबै व्यवसायीलाई हित हुनेछ ।

कृषिथोक बजारमा व्यवसाय सञ्चालनका लागि गरिएको सम्झौताभन्दा विपरीत गैर कृषि वस्तुको बिक्री भइरहेकाले तालाबन्दी गरिएको उनको भनाई छ । बजारमा करिब ५८ वटा पसलमा गैर कृषिको व्यापार देखिएको छ, निर्देशिका बमोजिम कार्यान्वयन गर्नु समितिको कर्तव्य हो, पौडेलले थपे ।

कृषि बजारमा कृषिजन्य व्यापारका लागि सम्झौता गरेर प्लास्टिकको व्यापार गर्ने, सागसब्जी पसलको सम्झौता लिएर फलफूल गर्ने व्यापारीहरूको सटरमा तालाबन्दी गरिएको हो । बजारभित्र ठाउँ, सटर बिक्री गर्नेहरूको समेत आवश्यक खोजविन गरी कारबाही हुने समितिले जनाएको छ । कृषिथोक बजार व्यवस्थापन समितिसँग ३१४ जना व्यापारीले सम्झौता गरेर व्यापार गरिरहेका छन् ।

उक्त अभियानका संयोजक महतोले बुधवारबाट पसल किनबेचको बारेमा अध्ययन हुने र आवश्यक कारबाही अघि बढाइने जानकारी दिएका छन् । उनले निर्देशिकाभित्र रहेर सम्झौता बमोजिम व्यापार सञ्चालन गर्ने सहमति जनाएमा ताला खोलिने बताइएको छ ।

सम्बन्धित समाचार