उचित मुल्य नपाउँदा झापाका मुडा व्यवसायी पलायन हुने अवस्थामा
झापा । देश बढ्दो आर्थिक तरलताको असर झापाका मुडा व्यवसायीहरूमा समेत परेको छ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घरेलु व्यवसाय थालेका उनीहरूले आफ्नै श्रम खर्चिएर मुडा बनाउँदा समेत मुडाको उचित बजार मुल्य नपाउँदा समस्या परेका छन्।
दिनप्रतिदिन मुडाको बजार भाउ खस्किँदै गइरहेकाले व्यवसायीलाई आफ्नो घरपरिवार कसरी चलाउनु र बैंक तथा वित्तीय संस्थाबाट लिएको रकमको कर्जा कसरी तिर्नु भन्ने समस्याले पिरोलिरहेको छ।
झापाको मेचीनगर नगरपालिका–१२ र अर्जुनधारा नगरपालिका–१० स्थित कालिझोडाका चार सयभन्दा बढी घरपरिवारले मुडा उत्पादन गरी आफ्नो दैनिकी गुजारा चलाउँदै आइरहेका छन्।
यहाँबाट उत्पादित मुडाहरू झापासहित काठमाडौं, पोखरा, वीरगन्ज, भैरहवा, विराटनगर, धरान लगायतका बजारमा उनीहरूले बिक्री वितरण गर्दै आइरहेको छ।
तर, अहिले आफ्नो उत्पादनले उचित मूल्य नपाउँदा फाइदाको त कुरै भएन लगानी उठाउन हम्मे हम्मे पर्न थालिसकेको मुडा व्यवसायी पदमबहादुर राईले गुनासो पोखे।
‘प्रतिगोटा दुई सय रुपैयाँमा बिक्री हुँदै आएको मुडा अहिले एक सय रुपैयाँमा बेच्न पनि समस्या छ,’ उनले भने। मुडा उत्पादन गरिसके पनि पैसा अभाव हुन्छ। ‘लघुवित्तबाट लिएको कर्जा तिर्नलाई पनि सस्तोमा मुडा बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘मुडा बनाउने सामग्रीहरूको बजार भाउ आकासिँदै गइरहेको छ, तयारी मुडाको बजार भाउ छैन, जसले गर्दा हामी साना व्यवसाय मारमा परेका छौँ।’
पहिला मुडाको व्यापार राम्रो थियो। अहिले त मुडा बिक्री पनि हुन छाडिसकेको बताउँदै मुडा व्यवसायी कृष्णकुमारी राईले भन्छिन्, ‘मंहगी पनि त्यस्तै बढेको छ, आफ्नो पेटको लागि पनि दुःख गर्नै पर्छ।’ जसो त्यसो लगानी गरेर मुडा बनाउने व्यवसाय थालिहाल्यो। ‘अब यसलाई बन्द गरेर कहाँ जानु, परिवार कसरी पाल्नु भन्ने पीडा पनि छ,’ उनले भनिन्।
विगतका वर्षहरूमा मुडा व्यवसायबाट राम्रै आम्दानी हुने गरेको भएता पनि पछिल्लो समय बिचौलियाका कारण आफूहरू मारमा पर्ने गरेको उनीहरूको गुनासो छ। यस्तै भइरहने हो भने अब यस पेसाबाट नै विस्थापित हुने समय टाढा नरहेको अर्को मुडा व्यवसायी लक्ष्मी आछामीले गुनासो पोखिन्।
उद्योगको पान नम्बर मेरै नाममा रहेको बताउँदै आछामीले भनिन्, ‘बर्सेनि सरकारलाई कर तिर्नै पर्छ, तर, राज्यबाट हामी साना व्यवसायीलाई कुनै सहुलियत उपलब्ध नहुँदा हामी व्यवसाय थप मारमा परेका छौँ।’ उद्योगको अवस्था पनि दयनीय छ। ‘जसले आएर हामीबाट मुडा किनेर बजार लगेर बेच्छ, उसैलाई हामी भन्दा बढी फाइदा हुन्छ,’ उनले भने।
‘हामी जस्ता साना घरेलु व्यवसायबाट उत्पादित वस्तुहरू कम्तीमा राज्यले खरिद गरिदिए वा एउटा निश्चित मुल्य निर्धारण गरिदिए हाम्रो व्यवसायलाई अझ गति दिन सकिन्थ्यो नि, तर राज्यले हाम्रो कुरा कहाँ सुन्छन् त ?,’ उनले थपे।