२०८१ भाद्र २४ गते , सोमबार

भद्रपुरमा १६ हप्ते आइपीएम कृषि पाठशालाको समापन

sajilo news
रेवतीराज घिमिरे
२०७९ पौष २२ गते , शुक्रबार
भद्रपुरमा १६ हप्ते आइपीएम कृषि पाठशालाको समापन

भद्रपुर ।  भद्रपुर- ९ स्थित डागीवारीमा सञ्चालित १६ हप्ते आइपीएम  कृषि पाठशाला समापन गरिएको छ ।  जिल्ला कृषि ज्ञान केन्द्र झापाको आर्थिक सहयोग तथा एकता मूल कृषि समूह भद्रपुरको संयोजनमा गत भदौ २० गतेदेखि पुस ८ गतेसम्म सञ्चालित आइपीएम कृषि पाठशालाको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको हो । 

सो अवधिमा कृषि पाठशालाले विभिन्न ५ जातका गोलभेँडाका ब्याड तयार गरी उत्पादन समेत गरेको छ ।  पाठशालाबाट उत्पादित कृषि उत्पादन स्वच्छ र ताजा गरिएको र लागत खर्च समेत कम भएको पाठशाला सञ्चालन समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।

उक्त पद्धतिबाट खेती गर्दा खेतीमा ढुसी लगायतका विभिन्न किराहरूको आक्रमण कम हुने हुँदा उत्पादनमा समेत वृद्धि हुने उनले बताए ।  समापन कार्यक्रमका प्रमुख अतिथि भद्रपुर ९ नम्बर वडा अध्यक्ष रामप्रसाद दाहालले जैविक खेती आजको आवश्यकता रहेको बताउँदै उत्पादन वृद्धिका लागि सबै वडावासीले आर्गेनिक उत्पादन गर्नु पर्नेमा जोड दिए । 

पाठशालाको प्रतिवेदन प्रस्तुत गर्दे कृषक खेमराज भट्टराईले संयोजक पोखरेलको डेढ कट्ठा जमिनमा आइपीएम र कृषि गरी दुई वटा विधिबाट ३ सय माथिका गोलभेँडाका बिरुवा लगाएर उत्पादन गरेको बताए  ।

कार्यक्रममा प्रशिक्षक अङ्कित भट्टराई र हरिप्रसाद पराजुली लगायतले मन्तव्य राखेका थिए । कृषि ज्ञान केन्द्र प्रमुख सागर विष्टको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन संयोजक पोखरेल र स्वागत मन्तव्य समूह सचिव युवराज ढकालले राखेका थिए ।

भद्रपुर वडा नम्बर ८ र ९ बाट गरी ३६ जना कृषकको सहभागिता रहेको पाठशालाको प्रशिक्षण क्रमशः ज्ञान केन्द्र प्रमुख विष्ट, बागवानी विकाश अधिकृत अङ्कित भट्टराई, बाली संरक्षण अधिकृत रामजुगन यादव, कृषि  प्राविधिक मन्दिरा श्रेष्ठ, कृषि प्रशासन अधिकृत चेतराज भण्डारी लगायतले दिएका थिए । 

    

 

सम्बन्धित समाचार