२०८३ बैशाख ३० गते , बुधबार

झापा प्रहरीको सक्रियता, फेरि ब्राउन सुगरसहित चार जना पक्राउ

sajilo news
झापा
२०७९ पौष २१ गते , विहीबार
झापा प्रहरीको सक्रियता, फेरि ब्राउन सुगरसहित चार जना पक्राउ

लागू औषधको ट्रान्जिट पोइन्ट बनेको झापामा प्रहरीले सक्रियता बढाएको छ जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा आएपछि प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागू औषधको विकराल समस्यालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

झापा लागू औषधको मुख्य ट्रान्जिट पोइन्ट किन र कसरी बन्यो भन्ने कारण पहिल्याउँदै त्यसको नियन्त्रणमा लागिपरेको प्रहरी उपरीक्षक रेग्मीले बताए । सामान्य क्राइमले व्यक्ति र घरपरिवारलाई असर गरे पनि लागू औषधको समस्याले सिङ्गो समाजलाई सिद्ध्याउन लागेकोले त्यस कारण निर्मम भएर लागेको उनले बताए । सुरुवाती समयमा प्रहरी उपरीक्षक रेग्मी नेतृत्वको टिम सक्रिय भएर लागेको देखिन्छ । रेग्मी आएको एक साताभित्र प्रहरीले करिब एक दर्जनलाई लागू औषधसहित पक्राउ गरिसकेको छ ।

यसैक्रममा प्रहरीले बिहीबार साँझ प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । साँझ ६ बजे दमक नगरपालिका- २ खरखरेमा सोही ठाउँ बस्ने ३६ वर्षीय सन्तोष राजवंशीको घरभित्र उनीसहित सोही ठाउँका ३६ वर्षीय कोलिलाकुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नम्बर १ बस्ने ३१ वर्षीय सन्दीप लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

ब्राउन सुगरसहित उनीहरूले प्रयोग गरेको को १४ प ७७८४, मे ८ प ३०६६ नम्बरको मोटरसाइकल र विभिन्न कम्पनीको मोबाइल ५ थानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई दिनमा झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ । 

सम्बन्धित समाचार