दमकमा ब्राउन सुगरसहित दुई जना पक्राउ
दमक । झापाको दमक नगर क्षेत्रबाट प्रतिबन्धित ब्राउन सुगरसहित बुधबार दुई जना पक्राउ परेका छन् । पक्राउमध्ये एक जना युवती रहेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई बुधबार साँझ पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बुधबार साँझ ६ः३० बजे मे. ७ प ५१०७ नम्बरको मोटरसाइकल चालक धनराज आलेलाई शंका लागेर चेकजाँच गर्दा ८ सय मिलिग्राम प्रतिबन्धित ब्राउनसुगर फेला पारेको थियो ।
३९ वर्षीय आलेको स्थायी घर इलामको फाकफोकथुम गाउँपालिका ४ हो भने उनी दमक १ स्थित कुमाल चोकमा बसोबास गर्दै आएका थिए । यस्तै, बुधबार साँझ ७ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चिया दोकानमा बसिरहेको अवस्थामा दमक नगरपालिका वडा नम्बर ९ की २६ वर्षीया अनिशा कार्कीलाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अनिशा कार्कीलाई शंका लागी चेकजाँज गर्दा निजको साथबाट प्रतिवन्धित लागुऔषध २ ग्राम ब्राउन सुगरसहित फेला पारिएको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।