२०८० फाल्गुन १० गते , विहीबार

खाद्य कम्पनी बिर्तामोडमा धान बेच्न किसानलाई हैरानी

sajilo news
झापा
२०७९ पौष २० गते , बुधबार
खाद्य कम्पनी बिर्तामोडमा धान बेच्न किसानलाई हैरानी

बिर्तामोड । झापा गाउँपालिका-२ का सिर्जन सुवेदीले ट्याक्टरमा १२५ बोरा धान बिक्री गर्न बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ल्याए । तर, कम्पनीले खरिद गर्न मानेन । अनेक हार गुहार गर्दा पनि नकिनेपछि सुवेदीले आफ्नो धान फिर्ता लानुपर्‍यो । कारण उनको धानमा जुँगा रहेको थियो । थेसर गर्दा धानसँगै केही जुँगा मिसिएको थियो ।

त्यस्तै बिर्तामोड-१ का कुलप्रसाद ओडारीको धान पनि कम्पनीले किन्न मानिरहेको थिएन । ओडारीको धानमा केही टुँडो रहेको थियो । उनले १३५ बोरा धान बेच्न ल्याएका थिए ।धान बेच्नका लागि उनले धान बताएर टुँडो हटाउनु पर्‍यो । अनि मात्र कम्पनीले आफ्नो धान किनेको ओडारीले बताए । थेसर गरेको धानमा अलिअलि टुँडो आउनु स्वाभाविक भए पनि खाद्य कम्पनीले धान नकिन्ने बहाना झिकेको ओडारीले गुनासो गरे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोड शाखाले गत बुधवारदेखि किसानको धान खरिद गर्न थालेको हो ।तर, किसानले त्यहाँ सहजै धान बिक्री गर्न सकिरहेका छैनन् । व्यापारीलाई दिँदा भाउ नदिने र भाउ पाउने भनेर खाद्य कम्पनीमा ल्याउँदा कम्पनीले सजिलै नकिन्ने समस्याले किसानहरू पिरोलिएका छन् । धान बिक्री भए पनि धान बेचेको रकम उठाउन समस्या हुने गरेको किसानहरू बताउँछन् । अर्जुनधारा- ७ का रघुनाथ सिटौलाले गत बुधवार ५६ मन धान बेचेका थिए । तर, त्यसको भुक्तानी उनले चार दिनपछि आइतबार मात्र पाए । उनको धान बिहीबार मात्र काँटा भएको थियो भने शुक्रवार र शनिवार बिदा भएकाले उनले आइतबार मात्र भुक्तानी पाएका हुन् ।‘धान बेचेर आफूलाई त्यस पैसाले भुस किन्नु थियो ’आफ्नै गाडी भएका सिटौलाले भने ,‘भुस सिरहा लानु थियो तर भुक्तानी नपाउँदा लान पाइनँ ।’ खाद्य कम्पनीको भुक्तानी प्रक्रिया झन्झटिलो भएको सिटौलाले बताए । कम्पनीले चेकमार्फत धानको रकम भुक्तानी दिने गरेको छ ।

खाद्य कम्पनीले सोना मंसुली धान प्रतिक्विन्टल ३ हजार १२८ र रञ्जित धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्ने गरेको छ ।जबकि व्यापारीहरूले ११०० देखि ११५० प्रतिमन धान किन्ने गरेका छन् ।कम्पनीले धान खरिदका लागि केही मापदण्ड बनाएको छ । धान तौलाई, चौकाईसम्बन्धी सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने ,धान घुन किरा नलागेको तथा अन्य बाह्य पदार्थ तथा अन्य धान नमिसिएको हुनु पर्ने ,धान खरिद कार्य सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुचारु रहने ,धान विक्री गर्ने किसानले अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने ,धान विक्री गर्ने किसानले सम्बन्धित गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको छ ।

आफूहरूले केही मापदण्ड बनाएको र सो मापदण्ड पूरा गर्नेका लागि कुनै समस्या नरहेको शाखा प्रमुख देवेन्द्र राईले बताए । किसानलाई असहज बनाउने आफूहरूको नियत नरहेको उनले प्रस्ट्याए । ‘व्यापारीकहाँ जस्तो नहुन सक्छ ’ उनले भने ,‘धेरै समय नलागोस् भने हामीले दुई वटा काँटा सञ्चालन गरेका छौँ ।’किसानहरू धान ल्याउन आतुर देखिने र धान ल्याइसकेपछि भुक्तानीको लागि पनि आतुर देखिने गरेको उनले बताए । कोही कोही झोक्किने पनि गर्ने गरेकाले सम्झाइ बुझाइ पठाउने गरेको उनको भनाइ छ । बिर्तामोड शाखाले मङ्गलवारसम्म रञ्जित ७९२।३२ क्विन्टल र सोना मन्सुली २८२.८० क्विन्टल गरी १ हजार ७५।१२ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख राईले जानकारी दिए । बिर्तामोड शाखाले ५ हजार रञ्जित र १० हजार सोना मन्सुली गरी १५ हजार क्विन्टल धान किन्ने कोटा निर्धारण गरिएको राईले बताए । उनले एक जना किसानबाट बढीमा १५० क्विन्टल मात्र धान खरिद गर्न सकिने जानकारी दिए ।

सम्बन्धित समाचार