झापामा लागु औषधसहित तीन जना पक्राउ
झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका- १ स्थित सुकुम्वासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शङ्का लागी मे ८ प ५३४४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा कनकाई नगरपालिका- ५ बस्ने २२ वर्षीय गौरव चुँडाल र सोही नगरपालिका- ४ बस्ने ४४ वर्षीय भीमबहादुर बस्नेतलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ३ ग्राम ७०० मिलिग्राम र १ थान डिजिटल तराजु फेला परेको थियो । लागु औषध र मोटरसाइकलसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।
त्यस्तै मेचीनगरस्थित काँकडभिट्टामा लागू औषध खैरो हिरोइन एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थित भट्टराई चौकमा पैदल हिडिरहेका सोही ठाउँका २८ वर्षीय दिलीप लिम्बुलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ५०० मिलिग्राम फेला परेको थियो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको छ ।