धरानलाई हराउँदै दोस्रो कनकाई भेट्रान कपको उपाधि आयोजकले उचाल्यो
कनकाई । झापाको कनकाईमा आयोजित दोस्रो कनकाई भेट्रान कपको उपाधि आयोजक कनकाई भेट्रान क्लब सुरुङ्गाले जितेको छ ।शनिवार भएको फाइनल खेलमा धरान भेट्रान क्लबलाई २-४ गोल अन्तरले हराउँदै आयोजक विजयी भएको हो ।
उपाधि सहित आयोजकले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धरानले ६१ हजार नगदमा चित्त बुझाएको थियो ।आयोजक कनकाईको टिम २-० गोल अन्तरले पछाडि परेको अवस्थाबाट विजयी बनेको हो । आयोजकका तर्फबाट सुजितकुमार राईले २ गोल गरे । बाकी गोल दिलकुमार राई र विनोद वान्तवाले गरेका थिए । पराजित धरानका तर्फबाट दुवै गोल रमेश गुरुङले गरे । प्रतियोगिताको म्यान अफ द सिरिज आयोजक टिमका विमल गुरुङ भए ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर आयोजकका किरण वडुवा, सर्वाधिक गोलकर्ता आयोजककै सुजितकुमार राई भए । विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , समाजसेवी शेरबहादुर थापा लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष श्यामकुमार राईले गरेका थिए । सो प्रतियोगितामा प्रदेश एकका ८ टिमको सहभागिता रहेको थियो ।