२०८३ बैशाख ३० गते , बुधबार

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

sajilo news
झापा
२०७९ पौष १६ गते , शनिबार
निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि डीआईजीको नेतृत्वमा नयाँ समिति गठन

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

गृहमन्त्री भएपछि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय गरेका थिए । गृहमन्त्रीको सो निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको हो ।

समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरू रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको छ ।

२०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर जानुभएकी भीमदत्त नगरपालिका-२ की बालिका निर्मलाको शव अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो ।

गृह मन्त्रालयले विभिन्न टोली बनाएर उक्त घटनाको छानबिन गरेको भए पनि अझैसम्म हत्यारालाई पक्राउ गर्न सकेको छैन। कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक ९एसपी० दिल्लीराज विष्टको टोलीले निर्मला पन्त बलात्कार र हत्या आरोपमा ४ भदौमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, सोही कारण विष्ट आफैँ कारबाहीको भागीदार बन्न पुगे ।

दिलीप पक्राउपछि कञ्चनपुर तनावग्रस्त मात्रै बनेन, प्रहरी र स्थानीयवासिबीच निरन्तर झडपको अवस्थासमेत सिर्जना भयो । प्रहरीको गोली लागेर स्थानीय युवा सन्नी खुनाको ज्यानै गयो । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए नमिलेपछि अदालतको आदेशले दिलीप थुनामुक्त भए ।

निर्मला बलात्कार तथा हत्याकाण्डले कञ्चनपुर तनावग्रस्त बनेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति नै बनायो । उक्त समितिले ३० भदौमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन पेस गरेको थियो । सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्टसहित डीएसपी ज्ञानबहादुर सेठी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएका डीएसपी अंगुर जीसीलगायत सात जना प्रहरी निलम्बित भए । जसका कारण निर्मला हत्या प्रकरण झन्‌झन् जटिल बन्दै गयो ।

सम्बन्धित समाचार