फेब्रुअरी ११ मा मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने

बिर्तामोड । सन् २०२२ फेब्रुअरी ११ मा मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने भएको छ । अघिल्लो वर्ष काठमाडौँमा सम्पन्न प्रतियोगिता यस वर्ष भारतको सिलिगुढीमा हुन लागेको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो । मिस तामाङ वर्ल्ड फाउन्डेसनले प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई यस अघि दुई लाख रुपैयाँ प्रदान गरिए पनि यस वर्षबाट पुरस्कार राशि वृद्धि गर्दै दश लाख रुपैयाँ पुर्याइएको मिस तामाङ वर्ल्डका संस्थापक अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।
तामाङ समुदायका किशोरीहरू भित्र रहेको प्रतिभा, कला, संस्कृति, परम्परा, सङ्गीत र साहित्यको खोज, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा विश्वभर बसोबास गर्ने सबै तामाङ समुदायका किशोरीहरूले सहभागिता जनाउन सक्ने बताइएको छ ।
सन् २०२१ मा भएको प्रतियोगितामा सिक्किमकी साङ डोमा तामाङले मिस तामाङ वर्ल्डको उपाधि हात परेका थिए । उनी यस अघि मिस सिक्किम समेत बनिसकेका छन् । प्रतियोगिताका लागि नेपाल र भारतका विभिन्न ठाउँमा तालिमको आयोजना गरिने फाउन्डेसनका महासचिव केवल तामाङले बताए ।प्रतियोगिता सम्पन्न गर्न एक करोड चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष मोक्तानले बताए ।
प्रतियोगिताका विजेतासँगै अन्य उत्कृष्ट ५ जनालाई पाँच विधामा पुरस्कार प्रदान गरिने बताइएको छ । पाँच विधाहरूमा मिस तामाङ विश्व संस्कृति, मिस तामाङ विश्व पर्यटन , मिस तामाङ विश्व समाज कल्याण , मिस तामाङ विश्व शिक्षा , मिस तामाङ विश्व स्वास्थ्य रहेका छन् । मिस तामाङ वर्ल्ड फाउन्डेसनले तामाङ समुदायको प्रतिनिधित्व गर्दै बनेका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य गोपाल तामाङ र रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङ रहेका छन्। गोपाल झापा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट प्रदेश सभा सदस्यमा निर्वाचित बनेको हो ।