जलथलले उचाल्यो जामुनखाडी हर्क राई स्मृति फुटबल कपको उपाधि
झापा कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार क्षेत्रमा निमार्णाधिन जामुनखाडी प्राकृतिक रंगशालामा भएको हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जलथल फुटबल क्लबले उचालेको छ ।
आज भएको फाइनल खेलमा उपाधिका लागि एपिएफ पकली र जलथलबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समय अवधि सम्ममा दुबै तर्फबाट दोस्रो हाफमा १-१ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय ट्राईब्रेकरबाट भएको थियो । ट्राईब्रेकरमा ५-४ गोल अन्तरले पकलीलाई पराजित गर्दै जलथलले उपाधि चुमेको हो ।
उपाधि चुमेसँगै जलथलले नगद १ लाख ११ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विजेतालाई प्रथम पुरस्कार हस्तान्तरण गरे भने उपविजेता पकलीलाई राई परिवारका सदस्य दिलीप राईबाट नगद रु ५५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
खेलको म्यान अफ दि म्याच साथै प्लेयर अफ दि टुर्नामेण्टको उपाधि क्रमशः जलथलका गोलकिपर समीर लिम्बू र हर्क लिम्बूले प्राप्त गरे । स्वर्गीय हर्क राईकी श्रीमतीले दुवै जना खेलाडीलाई नगद , ट्रफी र प्रमाण पत्र प्रदान गरिन् । यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार एफिएफ पकलीका जर्सी नम्बर—४ का अरविन्द चौधरीले नगद रु ११ हजार १ सय ११ प्राप्त गर्न सफल भए । कार्यक्रमका अवसरमा खेललाई विभिन्न विधामा सहयोग पुर्याउने सङ्घसंस्था र व्यक्तिहरूलाई सम्मान पत्रले सम्मान गरेको कनकाई—२ का वडाअध्यक्ष बलराम राईले जानकारी दिए । सो प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा टिमले सहभागिता जनाएको थियो ।