हल्दिबारी गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा
झापाको हल्दिबारी गाउँपालिकामा हल्दिबारी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । झापा ३ का नवनिर्वाचित सांसद तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमकाबीच हल्दिबारी आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । १५ बेड क्षमताको आधारभूत अस्पताल हल्दिबारी गाउँपालिकाको कार्यालयसँगै रहेको छ ।
अस्पतालमा दैनिक ओपिडी सेवा १० बजेदेखि ३ बजेसम्म,आकस्मिक सेवा ,प्रयोगशाला सेवा,स्वास्थ्य बिमा सेवा तथा फार्मेसी सेवा, आधारभूत स्वास्थ्य सेवाका सबै सेवाहरू उपलब्ध रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताए । उनले एक्स-रे ,युएसजीलगायतका सेवाहरू पूर्वाधार पुरा गरी थप गरिँदै लगिने जानकारी दिए ।हल्दिबारी गाउँपालिकाको सभा हललाई पार्टिसन गरी अस्थायी रुपमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
प्रत्येक पालिकामा कम्तीमा एउटा आधारभूत अस्पताल सञ्चालन गर्ने र हल्दिबारी गाउँपालिकामा रहेका करिब ३३ हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुरूप हल्दिबारी गाउँपालिकाअन्तर्गत वडा १ मा अस्पताल भवन निर्माण भइरहेको र निर्माण कार्य सम्पन्न गर्न केही समय लाग्ने भएकाले अस्पतालको भवन निर्माण कार्य पुरा नहुन्जेलसम्मको लागि गाउँपालिकाको सभा हललाई पार्टिसन गरी अस्थायी रुपमा अस्पताल सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख निरौलाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि राप्रपा अध्यक्ष एवम् सांसद लिङ्देन, प्रदेशसभा सदस्य छविलाल चुँडाल, गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनलगायतले शुभकामना मन्तव्य राखेका थिए । हल्दिवारी गाउँपालिकाअन्तर्गत ५ वटा वडामा ३ वटा स्वास्थ्य चौकी र २ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन रहेका छन् ।