क्रिष्टियानो रोनाल्डो केही दिनभित्रै साउदी क्लबमा आबद्ध हुने

पोर्चुगलका चर्चित स्टार क्रिष्टियानो रोनाल्डो केही दिनमै साउदी क्लब अल(नासरमा आबद्ध हुँदै छन्। चर्चित स्पेनिस अखबार मार्कालाई उद्धृत गर्दै डेलिमेलले वार्षिक १७ करोड ५० लाख स्टर्लिङ पाउन्डमा रोनाल्डोले साउदी क्लबसँग १ जनवरीमा सम्झौता गर्न लागेको उल्लेख गरेको छ।
३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँग यसै महिनाको शुरुवातमा सम्झौता अन्त्य गरेका थिए। उनले एक अन्तर्वार्तामा क्लब र प्रशिक्षकका बारेमा टिप्पणी गरेसँगै विवादमा तानिएका थिए। पछि त्यसै कारणले उनले क्लब छोडेका थिए।
मार्काका अनुसार अल-नासरले केही दिनभित्रै रोनाल्डोसँग सम्झौता गर्ने तयारी गरेको छ। उनी सम्झौताको अन्तिम तयारीका लागि परिवारसहित दुबईमा रहेको दाबी गरिएको छ।
अघिल्लो महिना उनले साउदी क्लबसँग गर्ने भनिएको सम्झौताको बारेमा आएका समाचारको खण्डन गरेका थिए। उनले आफ्नो बारेमा अफवाह फैलाएको भन्दै जवाफ दिएका थिए। यो बीचमा उनलाई युरोपका चर्चित कुनै पनि क्लबबाट प्रस्ताव नआएसँगै उनी कीर्तिमानी मूल्यमा साउदी क्लबमा आबद्ध हुन थालेका हुन्।