महिला आयोगको प्रश्न : वैदेशिक रोजगारीबारेको छलफलमा किन आएनन् झापाका म्यानपावर व्यवसायी ?
झापा । राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा झापाका म्यानपावर व्यवसायीहरूले डराएर सहभागिता नजनाएको भन्दै आयोजकले आपत्ति जनाएको छ ।
आयोगले सोमबार भद्रपुरस्थित जिल्ला समन्वय समितिको सभा हलमा वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालाहरूसँगको सहभागितामा सार्वजनिक सुनवाइ कार्यक्रममा सहभागिता जनाउन डराएका कारण जिल्लाका एउटा पनि म्यानपावर व्यवसायी नआएकोमा आयोगका सदस्य कृष्णकुमारी पौडेल (खतिवडा)ले आपत्ति जनाएका हुन् ।
आयोगले श्रम तथा रोजगार कार्यालय झापामार्फत जिल्ला म्यानपावर व्यवसायी संघलाई लिखित रुपमा पत्राचार गरेको थियो । ‘तर, संघले सम्बन्धित कार्यालयको पत्राचारको समेत बेबस्ता गर्दै कार्यक्रममा नआउनुमा उनीहरूले गर्दै आइरहेको काममाथि नै प्रश्न तेर्सिएको छ,’ सदस्य पौडेलले भनिन्, ‘अब जिल्लाका म्यानपावर कम्पनीहरूको अनुगमन गरी वैधानिकता खोज्नुपर्ने बेला आएको छ ।’ अनुगमन गर्न र वैधानिकता खोज्न उनले कार्यक्रममै सहभागी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग पनि आग्रह गरेकी छिन् ।
वैदेशिक रोजगारमा जाने महिलाहरूको अवस्थालाई मध्यनजर गरी आयोगले झापामा यस प्रकारको कार्यक्रमको आयोजना गरेको बताउँदै उनले भनिन्, ‘वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूको कुरा सुनियो, तर म्यानपावर व्यवसायीहरूको कुरा सुन्न पाइन् ।’ डराउनु भन्दा पनि कार्यक्रममा सहभागी भएर व्यवसायीहरूले पनि आफ्नो कुरा राख्नु पर्थ्यो । तर, कोही पनि आउनु भएन, उनले गुनासो पोखिन् । म्यानपावर व्यवसायी मात्र नभई राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिएनन् ।
म्यानपावर व्यवसायीहरूले श्रम तथा रोजगार कार्यालयको पत्राचारलाई अटेर गर्नु राम्रो सङ्केत नभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । म्यानपावर व्यवसायीबाट कोही पीडित भए लिखित रुपमा प्रशासन कार्यालय उजुरी दिन आव्हान गर्दै उनले भने, ‘आगामी दिन म्यानपावर व्यवसायीलाई प्रशासनले पत्र काटेर बोलाउँछन्, त्यस बेला उहाँहरू आउनुहुन्छ कि आउनुहुन्न त्यो पनि हेर्न बाँकी छ ।’
जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरूले श्रम तथा रोजगार विभागका कर्मचारी र म्यानपावर व्यवसायीका कारण वैदेशिक रोजगारीमा जानेहरू पीडित बन्न थालेको गुनासो पोखेका छन् । जहिलेसम्म विभागका कर्मचारी सुध्रिँदैनन् । तबसम्म वैदेशिक रोजगारीहरूको पीडा र शोषण कम नहुने सहभागीहरूले जोड दिएका छन् ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुण्यप्रसाद पौडेलले वैदेशिक रोजगार सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताको बारेमा सहजीकरण गरेको कार्यक्रमको सञ्चालन महिला आयोगका सहसचिव सीता अधिकारीले गरेकी थिइन् ।